चुरे क्षेत्र जोगाउन सुकुम्बासीहरु सडकमै सुतेर प्रदर्शन
जनकपुरधाम । चुरे क्षेत्र जोगाउन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै आन्दोलनरत सुकुम्बासी र चुरे अभियानले सडकमै सुतेर प्रदर्शन गरेको छ ।सुकुम्बासीहरूले चुरे दोहन बन्द गर्नु पर्ने, अतिक्रमित बन क्षेत्रबारे प्रदेश सरकारले गरेको छानबिन प्रतिवेदन सार्वजनिक हुनु पर्ने, सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउनु पर्नेलगाएका माग राखेर जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि सडकमै सुतेर प्रदर्शन गरेका हुन् ।
यसअघि जनकपुरधाम बन्द, झाडू जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री, जिल्ला प्रशासन, राजनीतिक दलका नेताहरूलाई ज्ञापन पत्र बुझाइसकेको अभियानका संयोजक सुनिलकुमार यादवले बताए । उनका अनुसार पछिल्लो समयमा सुकुम्बासीहरू रिले अनसन समेत बस्दै आएका छन् ।
सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहेको र वास्तविक सुकुम्बासी जग्गा पाउने अधिकारबाट वञ्चित भएको भन्दै उनीहरूले आन्दोलन गर्दै आएका छन् ।यादवले सिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताए पनि कुनै ध्यान नदिएको बताए ।


प्रतिकृया दिनुहोस्