मन्त्रीका ‘कुरा एउटा काम अर्कै’ भन्दै सचिवबीच खासखुस

मन्त्रीका ‘कुरा एउटा काम अर्कै’ भन्दै सचिवबीच खासखुस

 

काठमाडौ । प्रधानमन्त्रीसँगको सो कार्यक्रममा बोलेका प्रायः सबै मन्त्रीहरूले सुशासन, सेवा प्रवाह र असल कार्यसंस्कृतिमा जोड दिएका थिए । मन्त्रीका त्यस्ता कुरा सुनेका कतिपय सचिवहरू भने मन्त्रीको बोली एउटा व्यवहार भने ठीक उल्टो भएको भन्दै आफूआफूमा खासखुस गरेका थिए ।
तिनै मन्त्रीसँग मन्त्रालयमा काम गर्दा मन्त्रीको भ्रष्ट प्रवृत्तिलाई गहनताका साथ निहालेका र अनुभूति गरेका सचिवहरूले प्रधानमन्त्रीसँगको छलफल कार्यक्रममा मन्त्रीहरूले ठूलो स्वरमा सुशासन र सदाचारको कुरा उठाएपछि कतिपय सचिव छक्क परेका थिए ।
कार्यक्रममा सहभागी एक सचिवले सबै मन्त्रीहरूले सुशासनका ठूलाठूला गफ गरेको तर मन्त्रालयमा आएपछि भ्रष्ट संस्कृति र आचरण अपनाउने गरेको दाबी गरे ।
‘फिल्ममा दोहोरो चरित्र देखाएजस्तै हाम्रा मन्त्रीहरूले पनि दोहोरो चरित्र देखाउने गरेका छन्, कार्यक्रममा बोल्दा सुशासन कायम गर्ने र भ्रष्टचार रोक्ने बताउँछन् तर मन्त्रालयमा काम गर्दा भ्रष्टाचार गरी अकूत सम्पति आर्जन गर्न उद्धत देखिन्छन्,’ एक मन्त्रालयका सचिवले राजधानीसँग भने ।
ती सचिवका अनुसार मन्त्रीहरूले कार्यक्रममा बोलेजस्तै गरी मन्त्रालयमा आएर राम्रो काम गर्ने हो भने देश चाँडै प्रगति पथमा लम्कन सक्थ्यो तर काम र व्यवहार ठीक उल्टो हुँदा कुशासनले सीमा नाघेको हो ।
‘मन्त्रीहरू कलाकारजस्ता भएका छन्, बाहिर एउटा अभिनय गर्ने भित्र गएपछि अर्कै अभिनय गरेर लुट मच्चाइरहेका छन्,’ ती सचिवले भने । ती सचिवका अनुसार उनले हालसम्म कैयौं मन्त्रीसँग काम गरिसकेका छन् तर हालका जस्ता ‘भ्रष्ट मन्त्री’हरू आफूले अहिलेसम्म नदेखेको दाबी गरे ।
कार्यक्रममा सचिवहरूलाई भने बोल्न दिइएको थिएन । मन्त्रीहरूले बोलेलगत्तै केही सचिवले बोल्न खोजे पनि समय सकिएको भन्दै बोल्न रोकिएको थियो ।
राजधानी दैनिकबाट

लोकप्रिय