सरकारले नदी प्रवाह आधारित जलविद्युत् आयोजनाको मापदण्ड संशोधनको तयारी गर्दै
काठमाडौं । सरकारले नदी प्रवाह आधारित (आरओआर) जलविद्युत् आयोजनाको ‘डिजाइन क्राइटेरिया’ (मापदण्ड) संशोधनको तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले डिजाइन क्राइटेरियाका कारण सम्भाव्य स्रोतसाधनको उचित प्रयोग हुन नसकेको निष्कर्ष निकाल्दै डिजाइन परिवर्तन गर्न लागेको हो ।
प्रस्तावअनुसार डिजाइन क्राइटेरिया संशोधन भएमा वर्षायममा नदीको अधिकतम् पानी खपत गर्ने गरी आयोजनाहरु बनाउनुपर्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एक सार्वजनिक कार्यक्रममा जलवायु परिवर्तनका कारणले विश्वमा परेको असरलाई समेत दृष्टिगत गरी ‘क्यू’को सीमा पुनर्विचार गर्न सरकार अघि बढेको बताएकी थिइन् ।
अहिले सरकारले ‘क्यू ४०’मा जलविद्युत आयोजनाको डिजाइन गर्न सीमा तोकेको छ । यसले गर्दा आयोजनाहरु सानो क्षमतामा निर्माण भइरहेका छन् । अब यसलाई ‘क्यू २५’मा झार्ने तयारी गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
ती अधिकारीका अनुसार ‘क्यू २५’मा डिजाइन भएमा जडितक्षमताको करिब ७५ प्रतिशत बिजुली वर्षायाममा र ३० प्रतिशत सुख्खा याममा उत्पादन गर्ने गरी डिजाइन बनाउनुपर्ने हुन्छ ।
भविष्यमा नेपालमा विद्युत नपुग हुनसक्छ,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो, एकपटक आयोजना बनाएपछि सजिलै आयोजनाको क्षमता बढाउन सकिंदैन, ‘रिसोर्स किल’ भयो भनेर हामीले यसको तयारी गरेका हौं ।’
वर्षामा भारत जाने बिजुलीको मूल्य पनि बढी छ । भारतमा पनि वर्षयमाममै बिजुलीको माग बढ्छ । क्षमता बढेपछि बिजुलीको मूल्य पनि घट्न सक्ने देखिएको अधिकारीहरु बताउँछन् ।
आयोजनाको क्षमता बढाउँदै जति कम क्यूमा बनाउन सकिन्छ उति बढी विद्युत उत्पादन हुन्छ । तर, उत्पादन बढेपछि सरकारलाई खपत र विक्री बढाउन दबाब भने पर्ने छ ।


प्रतिकृया दिनुहोस्