April 20, 2021, Tuesday
२०७८ बैशाख ७

विवादास्पद इन्स्पेक्टर कोइरालाको अकूत सम्पत्ति !

विवादास्पद इन्स्पेक्टर कोइरालाको अकूत सम्पत्ति !

काठमाडौं । सशस्त्र प्रहरीका इन्स्पेक्टर दीपक कोइरालाको स्थायी घर दोलखा जिल्लाको पोवटी हो । काठमाडौंको शान्तिनगरमा उनका बुबाआमाहरुसँग भाइ र उनका परिवारहरु बस्छन् । उनका परिवारसहित उनी भने गठ्ठाघरमा बस्छन् ।

२०६७ सालमा उनले हाइटीको मिनुस्ता संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पुलिस एडभाइजरको रुपमा एक वर्षे कार्यकाल पूरा गरेका थिए । उनको शान्ति मिसनबाट आएको ४० हजार डलर तत्कालीन बजार मूल्यअनुसार २८ लाख नेपाली रुपैयाँ मात्र हो उनको आम्दानी । यसका अलवा उनको मासिक तलबबाट प्राप्त हुने आम्दानीबाहेक अन्य केही छैन ।

उनको तलब ३५ हजार ९ सय ९० हो भने १२ सयका दरले पाँच ग्रेडसहित उनले बुझ्ने तलब भनेको दश/दश प्रतिशत सञ्चयकोषमा चार हजार एक सय ९० र नागरिक लगानी कोषमा चार हजार एक सय ९० कट्टा गरी ३३ हजार छ सय एक रुपैयाँ हो भने रासनबापत उनले पाँच हजारका दरले पाएर उनको तलब भनेको कुल ३८ हजार छ सय एक रुपैयाँ मात्र हो ।

कोइरालाको चल/अचल सम्पत्ति के कति छ ? उनका दुई छोरीहरुको पठनपाठन, अस्वाभाविक रहनसहन र श्रीमतीको अस्वाभाविक आर्थिक क्रियाकलापको स्रोत के हो ? नेपालको कानुनले नातेदारको सूचीमा बाबुआमा, दाजुभाइ, दिदीबहिनी सासूससुरा र सालासालीसम्मलाई तोकिदिएको छ । अब छानबिन गर्नुपर्ने समय आएको छ ।

प्रत्येक दिन रासन खान नेपाल सरकारले दिएको रकम निजको खाताबाट ननिक्लिनुपछिको रहस्य के हो ? के उनले खाना खाँदैनन् ? कि खाएको पैसा तिर्दैनन् ? कि कालो बाटोबाट आएको रकमले उनको पेटको गुजारा चलेको छ ? उनले खाने महंगो रक्सी कुन राजमार्ग छिचोलेर उनको कक्षसम्म आइपुग्छ ? उनको ओठमा दिनमा दुई बट्टासम्म च्यापिने सूर्य चुरोटको खिल्ली कसरी उनको खाताबाट रकम ननिस्किई सम्भव भयो ? छानबिन गर्नुपर्ने समय आएको छ । सामान्यतया एउटा सामान्य नागरिकले एउटा बैंकको खाता मात्र खोल्छन् । तर उनको खाता चारभन्दा बढी बैंकमा खाता रहेको जानकारीमा आएको छ ।

स्थानीयस्तरमा रहेको अन्य वित्तीय संस्थाहरुमा पनि उनीहरुको चल/अचल र संकलन कति छ ? धेरै बैंक, धेरै रकम अनि धेरै तर्फबाट संकलन । चल/अचल जायजेथा के कति छन् ? उनको धितोपत्रहरु के कति संख्यामा छ ? यी आर्थिक क्रियाकलापलाई सामान्य लक्षण मान्न सकिन्न । त्यसको स्रोत के हो ? भन्ने प्रश्न उठेको छ र त्यसमाथि छानबिन हुुनुपर्ने माग पनि उठेको छ । तर यसै सम्बन्धमा इन्स्पेक्टर कोइरालाले आफ्नो बारेमा प्रकाशित समाचारको खण्डन नगर्ने बताएका छन् । फोन गरेपछि सम्पादकले उनलाई लिखितरुपमा खण्डन गर्न आग्रह गर्दा उनले लिखितरुपमा खण्डन नगर्ने बताएका हुन् । (आर्थिक दैनिकबाट)

भर्खरै

लोकप्रिय