May 6, 2021, Thursday
२०७८ बैशाख २३

कोरोना कोभिड-१९ संक्रमण भइ डाक्टर नभएमा

कोरोना कोभिड-१९ संक्रमण भइ डाक्टर नभएमा

प्रिया सम्पथकुमार, ‘द हिन्दु’बाट

९० प्रतिशतभन्दा बढी संक्रमित अस्पताल जानै नपरी पूरै निको हुन्छन् । रगतमा अक्सिजनको मात्रा जाँच्न अक्सिमिटर प्रयोग गरी दिनको तीन-चार चोटि हेर्नुपर्छ।

कसैलाई ज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी लाग्ने, कपाल दुख्ने, सुँघ्ने शक्ति वा स्वाद हराउने लगायत लक्षण देखियो भने कोभिड-१९ को शंकामा परीक्षण गरेको राम्रो।

भारतमा संक्रमणको संख्याले गर्दा शहरी क्षेत्रमा बस्ने जोकोहीलाई एक वा बढी लक्षण देखिएमा कोभिड सरेको सम्भावना छ। यदि परीक्षण सेवा उपलब्ध छैन भने आफूलाई कोभिड संक्रमण भएको अनुमान गरी घरै बस्ने, झ्याल खुला राख्ने र अन्य सतर्कताका उपाय अपनाउनुपर्छ।

आत्तिनु हुँदैन किनकि ९० प्रतिशतभन्दा बढी संक्रमित अस्पताल जानै नपरी पूरै निको हुन्छन् । रगतमा अक्सिजनको मात्रा जाँच्न अक्सिमिटर प्रयोग गरी दिनको तीन-चार चोटि हेर्नुपर्छ। श्वासप्रश्वासमा कठिनाइ छ भने १० चोटि या त्योभन्दा बढी जाँच्नुपर्छ।

५० वर्ष उमेर बढीका लागि ‘स्टेरोइड इन्हेलर’ सहयोगी हुन सक्छ। उपलब्ध छ भने यस्तो इन्हेलर (बुडेसोनाइड) दिनको दुई चोटिका दरले पाँच–सात दिनका लागि प्रयोग गरे हुन्छ । अक्सिजनको लेभल ९२ प्रतिशत या बढी छ भने अस्पताल भर्ना हुनु पर्दैन, रगत जाँच र सीटी स्क्यान चाहिँदैन । यस्ता बिरामीलाई खाने स्टेरोइड, इन्जेक्सनद्वारा दिने रेमडिसिभिर या प्लाज्माले फाइदा गर्दैन । बरु यस्तो अवस्थामा खाने स्टेरोइडको प्रयोगले लाभभन्दा हानि गर्नसक्छ।

अक्सिजनको मात्रा ९२ प्रतिशत भन्दा कम छ भने डाक्टरलाई देखाएर, सल्लाह अनुसार गर्ने हो। तलका सुझावहरू डाक्टर नभएमा र अस्पतालको शय्या उपलब्ध नभएको बेलाको लागि हो।

यो अवस्थामा पुग्दा सबैभन्दा महत्त्वपूर्ण उपचार अक्सिजन र खाने स्टेरोइड हो। ‘डेक्सामेथासोन’ सबैभन्दा बढी प्रयोग गरिने स्टेरोइड हो, प्रायः दिनको ६ एमजी पाँच दिनका लागि लिनेगरी।

डेक्सामेथासोन उपलब्ध नभएमा अन्य ओरल स्टेरोइड पनि पाइन्छ । बिरामीलाई मधुमेह छ भने स्टेरोइड लिँदा ब्लड–सुगर जाँचिरहनुपर्छ र सामान्यभन्दा माथि देखिए डाक्टरको सल्लाह अनिवार्य लिनुपर्छ । अक्सिजन पनि मिनेटको ४ लिटरभन्दा बढी चाहिए डाक्टरसँग सम्पर्क गर्नैपर्छ। 

अहिलेसम्म ओरल स्टेरोइड र अक्सिजनबाहेक उपचारका अन्य उपायहरूको फाइदा देखिएको छैन । धेरै चर्चामा आएका दबाईहरूको प्रभावकारिता पनि देखिएको छैन, जस्तै, इभरमेक्टिन, हाइड्रक्सिक्लोरोक्विन, भिटामिन सप्लिमेन्ट, एन्टिभाइरल्स र एन्टिबायोटिक्स । कोन्भालेस्मेन्ट प्लाज्माले राम्रो गर्ला कि भन्ने थियो शुरूशुरूमा, तर अनुसन्धानबाट यसको पनि सफलता साेचेजति देखिएन।

प्लाज्मा थेरापीका सन्दर्भमा यसलाई संकलन गर्न, परीक्षण गर्न र लगाउन अतिव्यस्त रहेको स्वास्थ्य प्रणालीमाथि जुन दबाब पर्छ त्यो वाञ्छनीय देखिँदैन। हालैको अनुसन्धानले रेमडिसिभिरको कोभिड उपचारमा थोरै मात्र प्रभावकारिता देखिएको छ।

धेरैजसो बिरामी घरै बसी पूरै निको हुन्छन्। सिकायत कम भएका बिरामी घरै बस्दा अस्पतालको शय्या, अक्सिजन र अन्य सेवा गम्भीर बिरामीका लागि बच्नेछन् । डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीले धेरै च्यापेको बिरामीमा केन्द्रित हुन पाउँछन् । यति भन्दाभन्दै यदि घरमा बसेको बिरामीको अवस्था माथि लेखिए जस्तो गरी बिग्रँदै गयो भने चाहिँ अस्पताल जानैपर्छ।

महामारीमा व्यक्ति व्यक्तिले गर्ने बाँकी कुरा के हो त? केही उपाय त सबैलाई थाहा भइसक्यो: मास्क लगाउने, भीडभाडमा नपस्ने, हात धुने ताकि कोभिड भाइरस नफैलियोस् । खोप लिनु सबैभन्दा महत्त्वपूर्ण कदम हो। कोभिड संक्रमणबाट हुनसक्ने असर अनि मरणबाट बच्ने सुरक्षित र अति प्रभावकारी तरिका भनेकै खोप लिनु हो । खोप लिँदा पनि संक्रमण हुनसक्छ, तर गम्भीर हुनबाट बचाउँछ।

आजका लागि ठूलो मानवीय क्षति नियन्त्रण गर्ने भनेकै बृहत् जनस्वास्थ्य कार्यक्रम नै हो । राम्ररी नियमन गर्ने हो भने निषेधाज्ञा र बन्दाबन्दी प्रभावकारी यन्त्र हुन् । धेरै मानिस जम्मा हुने र्‍याली या मेला निषेधित हुनुपर्छ । बृहत् खोप अभियान नभई हुँदैन । फिल्म जगत्, खेलकुद र सामाजिक सञ्जालका सेलेब्रिटी र ‘इन्फ्लुएन्सर्स’ले खोप, मास्क र भौतिक दूरीको प्रचार गर्नुपर्दछ । परीक्षणको रफ्तार बढाउनुपर्छ र यसको नतिजा सर्वसाधारणसामु सम्म नै पुर्‍याउनुपर्छ।

अक्सिजन लगायत स्वास्थ्य सामग्रीको आपूर्ति अवरुद्ध हुनु हुँदैन । यी सामग्री अस्पताल, स्वास्थ्यचौकी मात्र होइन, घरघरमा पनि चाहिएमा उपलब्ध हुनुपर्छ । संक्रमण बढ्दै गए कतिसम्मको बिरामीलाई कस्तो र कसरी सेवा पुर्‍याउने भन्ने सूचना सार्वजनिक हुनुपर्छ ।

संसारभर नै कोभिड संक्रमण र मरणबारे विश्वसनीय सूचना सरकारबाट नभई कटिबद्ध र क्षमतावान् पत्रकारहरूबाट हुँदै आएको छ । सरकारद्वारा नै भरपर्दो तथ्यांक सार्वजनिक हुनुपर्छ । स्थिति  भयावह छ भने पनि लुकाउनु हुँदैन।

अहिलेको अवस्था चिन्ताजनक छ । तर, हामी योभन्दा डरलाग्दो अवस्थामा प्रवेश गर्न सक्छौं । राष्ट्रिय स्वास्थ्य प्रणालीले थेग्न नसक्दा कसरी मरण क्रम बढ्दछ भन्ने हामीले देखिसक्यौं । तर, माथि उल्लिखित सुरक्षा र सही व्यवस्थापनले एक हदसम्म खतरालाई साझा गर्न सकिन्छ।

कोभिडको बृहत् फैलावट रोक्न प्रत्येक नागरिकले सुरक्षाको उपाय अपनाउनुपर्छ, राज्यले खोप अभियान तीव्र पार्नुपर्छ। घरमै बस्न मिल्ने बिरामीहरूले अस्पतालको प्रयोग नगर्ने हो भने सिकिस्त बिरामीलाई राम्ररी हेरचाह गर्न सकिन्छ र यो संकटलाई समग्रमा सही हिसाबले व्यवस्थापन गर्न सकिन्छ।

(लेखक सम्पथकुमार संयुक्त राज्य अमेरिकाको मायो क्लिनिकमा कार्यरत सरुवा रोग विशेषज्ञ हुन् । प्रस्तुत सामग्री गत अप्रिल २८ मा भारतबाट प्रकाशित ‘द हिन्दू’ पत्रिकामा छापिएको उनको लेखको भावानुवाद हो।)

भर्खरै

लोकप्रिय