पोर्चुगलमा कागजात प्रमाणीकरण गर्न १० युरो अतिरिक्त शुल्क

पोर्चुगलमा कागजात प्रमाणीकरण गर्न १० युरो अतिरिक्त शुल्क

 

लण्डन । पोर्चुगलमा नेपाली कागजात प्रमाणीकरण गर्न १० युरो अतिरिक्त शुल्क बुझाउनुपर्ने भएको छ । नेपाली राजदूतावास पेरिसले आयोजना गरेको कागजात प्रमाणीकरण शिविरमा गैरआवासीय नेपाली संघ पोर्चुगलले प्रतिव्यक्ति १० युरो अतिरिक्त शुल्क संकलन गरेको हो ।
जुन कार्यको पोर्चुगलमा सर्वत्र बिरोध भइरहेको छ । एक सेवाग्राहीेले एनआरएनए पोर्चुगलले प्रति कागजात १० युरोको दरले रकम लिएको गुनासो गरे । तर यसप्रति राजदूतावास पेरिस भने कानमा तेल हालेर बसेको छ ।
अहिले विगत ११ बर्षदेखि अनवरत रुपमा सेवा दिदैं आएको नेपाल सरकारको निकाय अवैतनिक महाबाणिज्य दूतावास पेरिसस्थित नेपाली राजदूतावासको ठाडो आदेशमा बन्द भएको छ । महाबाणिज्य दूतावास बन्द भएपछि पोर्चुगलमा कागजात प्रमाणीकरण र अनुवाद लगायतका कामकाज ठप्प भएको थियो । जसका कारण पोर्चुगलमा स्थायी तथा अस्थायी अनुमति पत्रको पर्खाइमा बसेका सयौं नेपाली नागरिकहरुले सास्ती व्यहोर्नुपरेको थियो । यही मौका छोपेर एनआरएनए पोर्चुगलले सेवाग्राहीसँग रकम असुलेको हो । तर यस घटनाप्रति राजदूतावास परिवार भने बेखबर जस्तै बनेको छ ।
अतिरिक्त शुल्क किन उठाइएको भन्ने प्रश्नमा एनआरएनए पोर्चुगलका एक सदस्यले पेरिसबाट आएका कर्मचारीलाई होटल तथा खाना खर्च, शिविरमा खटिएका कर्मचारी तथा अन्य खर्चका लागि रकम संकलन गरिएको बताए । तर यसरी खुलेआम रकम लिइरहँदा पनि टोलीमा खटिएका राजदूतावासका तृतिय सचिव दिपेन्द्र शाह भने आफूलाई सो विषयमा कुनै पनि जानकारी नभएको बताउँछन् । यसप्रति कांग्रेस समर्थित जनसम्पर्क समितिले भने आपत्ति जनाएको एक सदस्यले बताए । उनका अनुसार सेवाग्राहीसँग अतिरिक्त रकम लिएर एनआरएनए पोर्चुगलले गलत गरेको छ ।
राजदूतावासले महाबाणिज्य दूतावासलाई एक्कासी बन्द गर्न आदेश दिएपछि सिर्जित समस्यालाई समाधान गर्न राजदूत सुधिर भट्टराइले आफू निकट राजनैतिक दलका व्यक्तिहरुलाई पोर्चुगलमा कागजात संकलन गर्न निर्देशन दिएको र सोही अनुसार उनिहरुको आडमा एनआरएनए पोर्चुगलले कागजातसँगै रकम संकलन गरिएको बताइएको छ । एनआरएनए केन्द्र नै अख्तियारको पञ्जामा पुगेकोले पोर्चुगलको यो रवैयाले गैर अवासीय नेपालीहरुलाई पुनः एकपटक सोच्न बाध्य बनाएको छ ।
यसअघि महाबाणिज्य दूतावासले प्रति प्रहरी प्रतिवेदन ९ युरोमा प्रमाणीकरण तथा अनुवाद गर्दै आएको सूचना दूतावासको फेसबुक पेजमा छ । तर राजदूतावासले भने जनताको ढाड सेक्ने गरी सोही शिर्षकमा १०० यूरो लिएको छ । जसले गर्दा ८२० युरो आधारभुत तलवमा काम गर्ने नेपालीहरु मर्कामा परेका छन् । यसप्रति परराष्ट्र मन्त्री, राजदूतावास, पोर्चुगलमा रहेका नेपाली समुदाय लगायत सबैको ध्यान जान जरुरी छ ।

लोकप्रिय