अमेरिकाको टेक्ससमा बाढीको खतरा कायमै

अमेरिकाको टेक्ससमा बाढीको खतरा कायमै

 

अमेरिकाको मध्य टेक्ससमा अचानक आएको बाढीमा १५ बालबालिकासहित ५१ जनाको ज्यान गएको छ । हराइरहेका व्यक्तिहरूको खोजी कार्यका निम्ति सयौँ उद्धारकर्मीहरू परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्।

सबैभन्दा खराब असर देखिएको केर काउन्टीमा ४३ जनाले ज्यान गुमाएका छन् भने ग्वाडआलूपे नदी किनारस्थित क्रिश्चिअन युथ क्याम्पुका २७ जना बालबालिका अझै हराइरहेको अधिकारीहरूले बताएका छन्।

खोजीकार्य जारी छ र सबैजना नभेटिँदासम्म जारी रहने छ केर काउन्टीका शेरिफ ल्यारी लिथाले भने । ट्राभिस काउन्टी र टम ग्रिन काउन्सीसहित राज्यका अन्य स्थानमा पनि मानिसहरूको मृत्यु भएको पुष्टि भएको छ।

करिब ८५० जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। यो सप्ताहान्तभर मध्य टेक्ससका कतिपय स्थानहरूमा बाढीको जोखिम कायम रहने बताइएको छ।

पत्रकार सम्मेलनमा टेक्ससका गभर्नर ग्रेग एबोटले खोज प्रयासलाई प्रभावकारी बनाउन आफूले आपतकालसम्बन्धी विस्तृत घोषणामा हस्ताक्षर गरेको बताए।

उनले यस घटनामा परेका हरेकको स्थिति पत्ता लगाउनू अधिकारीहरूले अथक प्रयास गर्ने, त्यसपछि मात्रै उक्त कार्य रोकिनेू बताए।

अधिकारीहरूले अहिलेको प्रयत्न पुनर्निर्माणतर्फ नभई अझै पनि खोजी अभियानमै केन्द्रित रहेको बताएका छन्। उनीहरूले उद्धारकर्मीहरूले ग्वाडआलूपे नदीका सबैतिर बाढीमा परेका हुन सक्ने व्यक्तिहरूको खोजी गरिराखेको बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकालीन स्थितिसँग जुध्न आफ्नो प्रशासनले स्थानीय अधिकारीहरूसँग मिलेर काम गरिराखेको बताए।

होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले खोजीकार्यलाई सघाउन सङ्घीय सरकारले तटरक्षकहरूलाई खटाउने बताइन्।

मौसम पूर्वानुमानकर्ताहरूले यो सप्ताहान्तमा टेक्ससले थप बाढीको सामना गर्नुपर्ने हुन सक्ने चेतावनी दिएका छन्।
खोजीकार्य मुख्यगरी क्याम्प मिस्टिक भनिने ग्वाडआलूपे नदी किनारस्थित किशोरीहरूको एउटा ठूलो क्रिश्चिअन समर क्याम्पमा केन्द्रित छ।

टेक्ससका उपगभर्नर डान प्याट्रिकले ूहराइरहेका २७ जनामध्ये धेरैजसो बाह्र वर्षभन्दा कम उमेरकाू भएका बीबीसीको रेडिओ फोर पीएम कार्यक्रमलाई बताए।

शिविरबाट प्राप्त तस्बिरहरूमा त्यहाँ लगिएका ओढ्ने ओछ्याउने, खेलौना तथा अन्य निजी सामग्रीहरू हिलाम्ये भएको देखिएको छ। शुक्रवार नदीको स्तर एक घण्टाभन्दा पनि कम समयमा आठ मिटरभन्दा अधिकले बढेका बेला धेरैजसो मानिसहरू सुतिरहेका थिए।

शिविरमा गएका ७५० जनाका अभिभावकहरूलाई क्याम्प मिस्टिकले पठाएको इमेलमा उनीहरूले सिधै सम्पर्क नगरेको भए उनीहरूलाई बेपत्ता भएको ठानिने उल्लेख गरिएको छ।

केही परिवारले मृत भेटिएका मानिसहरूमा आफ्ना केटाकेटी पनि रहेको सार्वजनिक रूपमै बताइसकेका छन्।

मृतक या हराइरहेका तथा उनका परिवारजनका निम्ति नोट्रे डेम क्याथलिक चर्चामा आइतवार विशेष सभा आयोजना गरिने बताइएको छ।

सप्ताहान्त मनाउनका निम्ति जुलाई ४ मा त्यहाँ पुगेका अन्य मानिसहरूको स्थिति पनि पत्ता लागेको छैन।

बाढीमा आफ्नो घर र रेस्टोराँ गुमाएकी लोरेना गुलेनको नदी नजिकैको जमिनमा मनोरञ्जनका निम्ति गएकाहरूको २८ वटा सवारी साधनहरू राखिएका थिए। उनले पाँच जनाको एक परिवारका मानिसहरू चिच्याएको सुनेको बताइन्।

तिनीहरू बग्दै थिए, उनले भनिन्, उद्धारको आशमा रूखलाई समातेका थिए तर उद्धारकर्मीहरू त्यहाँ पुग्न सकेनन्।

रचेल रीड आफ्नी छोरीलाई लिन पाँच घण्टा गाडी हाँकेर डलसबाट यहाँ आइपुगेकी हुन्। उनले ज्यान गुमाएका र हराइरहेकामा आफ्नो चर्च र केटाकेटीको विद्यालयको समुदायका मानिस पनि रहेको बताइन्।

बालबालिका त्यहाँ गएकाका हरेक अभिभावक दुस्स्वप्नको स्थितिमा छन्, उनले भनिन् निस्सन्देह, मलाई पनि त्यस्तो पर्न सक्थ्यो।

अन्य मानिसहरू पनि बाढीग्रस्त क्षेत्रतर्फ आउन थालेका छन् । जोनाथन र ब्रिटनी रोजन एकजना आफन्तको घरमा पुगे जहाँ केवल घरको जगमात्र बाँकी देखिन्छ।

उनीहरूले आमा र शिशु गरी उक्त घरका दुईजना हराइराखेको बताए। उक्त परिवारका एक किशोर भने तारमा अल्झिएर बाँच्न सके।

त्यहाँका अर्का बासिन्दा एन्थनीले आफ्नो अपार्टमेन्ट हिलो र भग्नावशेषले भरिएको पाए। बाल्यावस्थाका तस्बिर र सानो ब्ल्याङ्केट भएको एउटा बाकसबाहेक उनका अरु सामानहरू जोगाउन सकिने स्थितिमा थिएनन्। मैले सबथोक गुमाएँ । स्रोतः बीबीसी

 

लोकप्रिय