पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटीहोम सञ्चालनका लागि दिएन अनुमति

पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटीहोम सञ्चालनका लागि दिएन अनुमति

काठमाडौं । पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिएको जनाएको छ ।

नेपाल ट्रस्टले कोटीहोमका लागि उपलब्ध गराएको भनिएको लेकसाइडस्थित जग्गा सहरको अति व्यस्त स्थान रहेको भन्दै महानगरपालिकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी सो अनुमति तत्काल रद्ध गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय गरेको हो । लेकसाइड आन्तरिक तथा बाह्य पर्यटक आवतजावत र घुमफिर गर्ने मुख्य पर्यटकीय केन्द्र रहनुका साथै विश्व रामसार सूचीमा सूचीकृत फेवातालको किनारमा पर्यटनको मुख्य सिजनमा एकै प्रकृतिको कार्यक्रम लामो समयसम्म गर्दा आवतजावत र भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने ठहर गर्दै महानगरले नगर क्षेत्रमा आफ्नो अनुमति बिना कुनै पनि व्यक्ति वा संस्थालाई कुनै प्रकारको अनुमति–सिफारिस–सहमति नदिन समेत ट्रस्टलाई अनुरोध गर्दै पत्राचार गरेको छ।

महानगर क्षेत्रभित्र धार्मिक–सांस्कृतिक कार्यक्रम आयोजना गर्दा नियमानुसार महानगरपालिकाबाट पूर्वस्वीकृति लिनुपर्ने र त्यस्तो स्वीकृति पोखरा महानगरपालिकाबाट एकद्वार प्रणालीमार्फत साबिकदेखि नै हुने व्यवस्था भएको भन्दै महानगरले सोही व्यवस्था अनिवार्य परिपालनाका लागि सबै वडा कार्यालय, शाखा–महाशाखालाई निर्देशन समेत दिएको छ ।

नगर कार्यपालिकाको बैठकले मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि समिधाका नाममा महानगरको अधिकार क्षेत्रमा रहेका र संरक्षण गरिएका सडक छेउका पुराना र ऐतिहासिक चौतारीका वरपीपल लगायत रुख बिरुवा गैरकानुनी रूपमा अनियमित तवरले कटान गरी पर्यटकीय राजधानी सहरको सुन्दरतामा क्षति पुर्‍याइएको जनाएको छ ।

जैविक विविधता र पर्यावरणमा क्षति गरेको भन्दै रुख कटान कार्यमा संलग्न व्यक्ति वा संस्थालाई प्रचलित कानुनबमोजिम अविलम्ब कारबाही गर्न डिभिजन वन कार्यालय कास्कीलाई समेत पत्र पठाउने निर्णय गरेको छ ।

 

लोकप्रिय