भरतपुरको पटिहानीमा रैथाने बजारको शुभारम्भ

भरतपुरको पटिहानीमा रैथाने बजारको शुभारम्भ

काठमाडौं । चितवनको भरतपुर पटिहानीमा रैथाने बजारको शुभारम्भ भएको छ ।

सोमबार एक कार्यक्रमका बीच भरतपुर महानगरका प्रमुख रेनु दाहालले हरेक शुक्रबार सञ्चालनमा आउने गरी सुरु भएको रैथाने बजारको उद्घाटन गरेकी छन् । ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं, आर्थिक समृद्धिको दिशामा अघि बढौं’ भन्ने नारासहित वडा नम्बर २२ परिसर, धनौजीमा बजार सञ्चालन हुनेछ ।

शुभारम्भ कार्यक्रममा वडा कार्यालयको प्रसंशा गर्दै मेयर दाहालले रैथाने बजारमा स्थानीय उत्पादन, कृषि उत्पादन, हस्तकला तथा स्थानीय परिकारहरुले आन्तरिक जीबिकोपार्जनमा टेवा पुर्‍याउने भन्दै वडा अध्यक्ष बिष्णुराज महतोको चर्चा गर्दै उनले हरेक वडाले अनुशरण गर्नुपर्ने बताइन् ।

कार्यक्रममा समग्र होटलहरुको तर्फबाट कसरा रिसोर्टका जनरल म्यानेजर सन्तोष कुवर, चितवन उधोग बाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठ, बागमती प्रदेशका निवर्तमान सांसद रामलाल महतो लगाएतका बक्ताहरुले रैथाने बजार, रैथाने परिकार र भरतपुरको पर्यटनको बिषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रम वडाध्यक्ष महतोको सभापतित्वमा सम्पन्न भएको थियो ।

लोकप्रिय