अझै बनेन झापाको बिरिङ खोलाको पुल

अझै बनेन झापाको बिरिङ खोलाको पुल

काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन ।

झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् ।भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ ।

२०६५ सालमा भारत सरकारको दुई करोडको सहयोगमा पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए ।

सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपीन ढुङ्गानाले चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल नपरेको बताए । हिउँदमा सवारी आवागमन हुने पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ । बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ ।

लोकप्रिय