इजरायल–हमास लडाइँः अहिले सम्म ४५० बढिको मृत्यु, नेपाली सहित सैयौं घाइते

इजरायल–हमास लडाइँः अहिले सम्म ४५० बढिको मृत्यु, नेपाली सहित सैयौं घाइते

काठमाडौँ । इजरायल–गाजा युद्धमा अहिले सम्म ४ सय ५० भन्दा बढी मानिसहरूको मृत्यु भएको विवरण आएको छ । द न्युयोर्क टाइम्सका अनुसार आज बिहानसम्म दुबैपक्षका गरी ४५० जनाको मृत्यु भएको छ ।

इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० नागरिकको मृत्यु भएको छ भने १ हजार ४ सयभन्दा बढी घाइते छन् । इजरायलको जवाफी कारबाहीबाट २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

इजरायलका विभिन्न शहरहरूमा हमास र इजरायली सैनिकहरूबीच युद्ध भइरहेको बताइएको छ । विभिन्न शहरहरूबाट हमासले त्यहाँका नागरिकहरूलाई बन्दी बनाएर लैजाँदै गरेको भिडिओहरू सार्वजनिक भएका छन् । इजरायली अधिकारीहरूले ज्येष्ठ नागरिक र सैनिक अधिकारीहरूलाई हमासले अपहरण गरी गाजा पुर्याएको बताएका छन् ।

हमासको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले युद्ध सुरू भएको घोषणा गरेका छन् । उनले अझै केही दिन युद्ध चल्ने र केही गाह्रो परिस्थितिको सामना गर्नुपर्ने बताएका छन् । ‘हामी युद्धमा छौं र यो युद्ध हामी जित्नेछौं,’ उनले भनेका छन् ।

शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले इजरायलका विभिन्न शहरमा आक्रमण गरेका थिए । इजरायलका २२ सहर र सेनाको आधार शिविरमा हमासले गाजाबाट हजारौं रकेट प्रहार गरेको थियो । यसलाई इजरायलमाथि ५० वर्षयताकै ठूलो आक्रमण रहेको बताइएको छ । तर यसलाई निस्तेज पारेरै छाड्ने प्रधानमन्त्री नेतन्याहुले बताएका छन् । एजेन्सी ।

लोकप्रिय