कर्णाली उत्सवको पाँचौं संस्करण आजबाट
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सवको पाँचौं संस्करण आजबाट सुरू हुँदैछ । हरेक वर्ष फागुन ५, ६ र ७ गते गरिँदै आएको कर्णाली उत्सवको यो पाँचौ संस्करण हो । तीन दिनसम्म चल्ने उत्सव पर्यटकीय स्थल बुलबुलेमा आयोजना हुँदैछ ।
‘कुडा कर्नालीका’ नाम दिइएको उत्सवमा विगत वर्षजस्तै यसपटक पनि विभिन्न विषयमा बहस, विद्वत प्रवचन, पैकेलो (हिरो) का कथा, सांगीतिक साँझ, साहित्य साँझ प्रस्तुत गरिनेछ । यो वर्षको उत्सवमा विपद्को सवाललाई बढी प्राथमिकता दिइएको आयोजक समितिका सदस्य प्रकाश लामिछानेले बताए ।
शनिबार पहिलो दिन १० बजे उत्सवको उद्घाटन सुरु भएको छ । उद्घाटन सत्रमा कर्णाली उत्सव, उत्सव वा बहसमा भएको लगानी, कर्णाली बाहिरका सरोकारवालाको कर्णालीप्रतिको प्रेम, नीतिसम्बन्धी बहसको महत्त्व लगायतका विषयमा मन्तव्यको तयारी गरिएको छ ।
उद्घाटन सत्रकै क्रममा ‘प्रसूति र पितृसत्ता’ विषयमा विद्वत प्रवचन रहनेछ । उक्त प्रवचन नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माले गर्नेछन्। सिम्ता गाउँपालिकाको सिङ्गारू नाच पनि उद्घाटन सत्रमा रहने आयोजक समितिका संयोजक तथा ऋति फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्