…कुडा कर्नालीका रुपान्तरणको निरन्तर बहस

…कुडा कर्नालीका रुपान्तरणको निरन्तर बहस

सुर्खेत । कर्णालीलाई चिन्ने,निचाउने बहस विमर्श र विचारको उत्सव ‘कर्णाली उत्सव’ कुडा कर्नालीकाको पाँचौँ संस्करण सुरु भएको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरको बुलेबुले उधानमा ऋति फाउण्डेसनको आयोजनामा शनिवारदेखी सुरु भएको छ ।

तीन दिन सम्म सञ्चालन हुने उत्सवको उद्घाटन समारोहलाई संबोधन गर्दै प्रदेश प्रमुख परियारले कर्णाली उत्सवले आर्थिक सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणमा टेवा पुराउने बताएका छन् । नीति निर्माण,आर्थिक समृद्दि तथा कर्णाली चिन्न चिनाउन, यहाँका सम्भावना पहिचान लगानी मैत्री वातावरण सृजनाका निम्ती उत्सवले पुलको काम गर्ने उल्लेख गरे ।

उनले भने, ‘समृद्ध कर्णाली निमार्णका लागि विगत चारवर्षदेखी छेडिएको यो बहसले कर्णालीको विकास र नीति निर्माण तहमा बसेकालाई जवाफदेहि बनाउन मदत गरेको छ । कर्णालीमा गरिबी,अशिक्षा,बेरोजगारी मात्रै छैन् । यहाँ कृषि,पर्यटन,जडिबुटि,भाषा,साहित्य र संस्कृतिको प्रचुर सम्भावना छन् । काठमान्डौ बसेर कल्पना गरिएको भन्दा कर्णाली फरक छ भन्ने देखाउन पनि यो बहसले विशेष महत्व राखेको छ ।’

भौतिक विकासले मात्रै समाज रुपान्तरण सम्भव नरहेकोले सामाजिक रुपान्तरणका लागि तीनै तहका सरकारले नागरिकका गुनासा सुन्ने पद्दतीको विकास गर्नु पर्नेमा जोड दिए । बहसबाट उठेका कुरालाई अभिलेखिकरण तथा सरकारले नीति कार्यक्रममा समेटेर समृद्दि कर्णाली निर्माणका निम्ति जुट्नु पर्ने उनको भनाई छ । उत्सवको उद्घाटन सत्रमा राष्ट्यि वाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठले बहसमा लगानी, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले नीति बहसको महत्व, नेपाल सरकारका सचिव केवल भण्डारीले कर्णाली प्रेमबारे अनुभव राखेका थिए ।

उपाध्यक्ष शाहीले कर्णाली जस्ता प्रदेशहरू पछाडि परेको पनि राज्यको नीतिहरूको कारणले नै भएको बताए । ‘कर्णाली कुनै बेला समृद्ध भएको पनि राज्यको असल नीतिका कारण हो’, उनले भने, ‘कर्णलीबासीलाई राज्यले खुर हान्नु भन्ने नीतिले उपेक्षित बनायो ।

३० को १ खण्ड कर उठाउने पद्धतिबाट १० को १ खण्ड कर उठाउने नीति र बाह्य व्यायार निरुत्साहित गर्ने नीतिले कर्णालीको समृद्ध व्यापारिक मार्ग अभाव र गरिबीको पर्याय बन्यो । उत्तर र दक्षिण चरन क्षेत्र बन्द र हेलीबाट चामल ढुवानीले कर्णालीको गरिबीको चक्रलाई झनै गहिरो पार्यो ।’
उत्सवमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव डा. सुधा शर्माले देशको स्वास्थ्य राम्रो बनाउन कर्णालीको तस्बिर गतिलो हुनुपर्ने बताइन् । प्रसूति र पितृसत्ता विषयमा विद्यत् प्रवचन दिने क्रममा डा. शर्माले कर्णालीका महिला पछि परेको खण्डमा सिंगो देश पछि पर्ने र दिगो विकासको लक्ष्य पूरा नहुने बताइन् ।

‘परापूर्व कालको सम्पन्न कर्णाली विस्तारै विपन्न हुँदै गयो । यसले एउटा खराब बिम्बको निर्माण गर्यो, ती हुन अविकास र गरीबी,’ उनले भनिन्, ‘अब कर्णाली बिम्ब परिवर्तन गर्ने ठाउँमा पुगेको छ ।’ कुनैबेला जन्मिएका एक हजार जना बालबालिकामा एक सय १९ जना बालिका मर्ने कर्णालीको शिशु मृत्युुदरमा निकै सुधार भएको उनले बताइन् । उनका अनुसार दुई वर्ष अगाडि नवजात शिशु मृत्युदर घटेर एक हजार जनाबाट २६ जनामा झरेको छ । तथापि यो पर्याप्त छैन । देशमा औषत शिशु मृत्युदर एक हजारमा २२ पुगेको छ ।

उनले २०५३ देखि हालसम्म कर्णालीले राम्रो प्रगति हासिल गरेको बताइन् । यसका लागि महिला शिशा अनिवार्य गर्नु आवश्यक रहेको उनको तर्क छ । उनले भनिन्, ‘देशको भविष्य राम्रो बनाउन महिलाको भविष्य राम्रो हुनुपर्छ ।’ समग्र देशको तुलनामा कर्णालीमा बाल विवाह सबैभन्दा बढ्ता छ । जसले मातृ मृत्युुदर बढाइरहेको छ ।

१ लाख गर्भवतीमा आमामा एक सय ५१ आमा मर्ने देशको कर्णाली क्षेत्रमा भने एक सय ७१ आमाको मृत्युु भइरहेको छ । ‘अब सन् २०३० सम्ममा मातृ मृत्युदरलाई ७० मा झार्नु पर्नेछ । अनिमात्र सहस्राब्दी लक्ष्य हासिल गर्न सकिनेछ’, उनले भनिन् । तथ्यांकमा सुधार भएर मात्रै आशा गर्नु ठाउँ नरहेको उनको तर्क छ । ‘कुन वर्ग, समुदाय, जातजातिको स्वास्थ्य क्षेत्रमा कतिको पहुँच पुगेको छ । त्यो महत्त्वपूर्ण हुन्छ,’ उनले भनिन्, ‘यो बहसको विषय हो । पीडित हुनेहरुको स्तर साह्रै कमजोर छ । महिलाहरु बढी छन् ।’

संख्याका हिसाबले स्वास्थ संस्थाको राम्रो उपलब्धता भएको कर्णालीमा सेवा प्रवाहको स्तर साह्रै कमजोर भएको डा. शर्माले बताइन् । ‘देशको आधा जनसंख्यालाई स्वास्थ्य संस्थासम्म पुग्न ३० मिनेटमा लाग्छ । तर कर्णालीका जम्मा ३० प्रतिशत जनता मात्रै ३० मिनेटमा स्वास्थ संस्थामा उपचारका लागि पुग्न सक्छ,’ उनले भनिन्, ‘अब कर्णालीले सकारात्मक प्रतिस्पर्धा गर्नुपर्छ । यसले अगाडि बढ्ने र संघर्ष गर्ने बाटो पहिल्याउन सक्छ । अनि मात्रै कर्णाली जित्न तत्पर हुन्छ ।’ उत्सवमा लगानीको लगन, कर्णाली दृष्टि, कर्णाली क्याराभान, पहुँच र पौरख, हाम्मो काली, हाम्मै कर्नाली, रहर र कहर जस्ता थुप्रै कार्यक्रम सेसनहरुमा बहस हुनेछ ।

राज्यका अन्य प्रदेशको तुलनामा पछि परेको कर्णालीको इतिहाँस, यहाँको सम्भावना र कर्णालीको आवाजलाई राज्यको मुलधारमा पुर्याउने प्रमुख उद्देश्यका साथ विगत पाँच बर्षबाट निरन्तर कार्यक्रम गर्दै आएको आयोजक कमिटीका संयोजक कमल लम्सालले जानकारी दिए ।

लोकप्रिय