०८४ मा एमाले एक्लै चुनाव लड्ने
काठमाडौ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमालेले पनि आगामी चुनाव एक्लै लड्ने घोषणा गरेका छन् । ललितपुरस्थित एमाले केन्द्रीय कार्यालयमा मंगलबारदेखि सुरु पोलिटब्युरो बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेससित सरकारमा सहकार्य भए पनि आगामी चुनावमा आ–आफ्नो नीति लिएर प्रतिस्पर्धा गर्ने बताए ।
पार्टीले एकल बहुमत ल्याउने उद्देश्यसहित ‘मिसन ०८४’ तय गरेको उल्लेख गर्दै त्यहीअनुसार कार्ययोजना बनाउन ओलीले निर्देशन दिए । ‘अहिले कांग्रेससित सत्ता सहकार्य भए पनि आगामी निर्वाचनमा एमाले एक्लै चुनाव लडेर प्रमुख राष्ट्रिय शक्ति बन्नेछ,’ पोलिटब्युरो बैठकमा ओलीले भने, ‘त्यसका लागि मिसन ०८४ सुरु गरिसकेका छौं ।’
सोमबार मात्रै कांग्रेस केन्द्रीय कार्यसमितिले चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्तावलाई भाषा परिमार्जन गर्दै अनुमोदन गरेको थियो । कांग्रेसले ‘आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्ने’ निर्णय गरेको थियो । ‘हामी भविष्यमा हुने निर्वाचनमा आफ्नै तागतमा एक्लै लड्नेछौं र हाम्रा मतदातालाई कांग्रेसको चुनाव चिह्न रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ कांग्रेसको निर्णयमा भनिएको छ ।
एमाले स्थायी समिति सदस्य भानुभक्त ढकालले एमाले एक्लैले बहुमतको सरकार बनाउने उद्देश्यसहित ‘मिसन ०८४’ घोषणा भएकाले प्रधानमन्त्रीले त्यहीअनुसार तयारी गर्न निर्देशन दिएको बताए । ‘०८४ मा एमाले एक्लै चुनाव लडेर बहुमत ल्याउने मिसन हो,’ उनले भने, ‘कांग्रेससित सत्ता सहकार्य गरे पनि निर्वाचनमा आआफ्नो नीति लिएर चुनावमा जानेछौं ।’ एमालेले गत पुसमा मिसन बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङ मध्यपहाडी राजमार्गमा संकल्प यात्रामा मिसन ०८४ अभियान चलाएको थियो ।
गत आमनिर्वाचनमा कांग्रेस, माओवादी, एस र जसपाबीच चुनावी गठबन्धन भएको थियो भने एमाले, राप्रपाबीच केही स्थानमा सहकार्य भएको थियो । आगामी निर्वाचनमा भने कांग्रेस, एमाले र माओवादीले एक्लाएक्लै निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसका लागि तीन दलले आआफ्नो संगठन सुदृढ अभियान सुरु गर्ने भएका छन् ।
प्रतिकृया दिनुहोस्