आज प्रजातन्त्र दिवस भव्यताका साथ मनाइने

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध निकायमार्फत गरिने कार्यक्रम एवं जिम्मेवारी तोकिएको छ ।
सञ्चार मन्त्रालयका सचिव राधिका आर्यालको संयोजकत्वमा बसेको प्रचारप्रसार उपसमितिको बैठकले प्रजातन्त्र दिवस २०८१ लाई भव्यताका साथ सम्पन्नका गर्नका लागि मन्त्रालय मातहतका विभिन्न सात निकायको जिम्मेवारी तय गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायकहरूमार्फत राष्ट्रिय प्रजातन्त्र तथा राष्ट्रिय प्रजातन्त्र दिवसको सम्बन्धमा एसएमएस, रिङ् ब्याक टोन र डिजिटल डिस्प्ले बोर्डहरूमार्फत शुभकामना सन्देश प्रवाहको व्यवस्था गर्ने साथै अनुगमन, समन्वय र सहजीकरण गर्नेछ ।
प्रजातन्त्र दिवसका सम्बन्धमा एसएमएस पठाउने, डिजिटल डिस्ल्पेहरूमा दिवसको शुभकामना सन्देश प्रवाह गर्ने जिम्मा नेपाल टेलिकमलाई दिइएको छ । त्यसैगरी विज्ञापन बोर्डले प्रजातन्त्र दिवससँग सम्बन्धित लोक कल्याणकारी विज्ञापन तयार गरी देशभरका आठ सय ६६ वटा पत्रपत्रिकाहरूमा प्रकाशनको लागि पठाउने र कार्यान्वयनको समन्वय गर्नुपर्नेछ । बोर्डले नेपाल टेलिभिजनसँगको समन्वयमा जनचेतनामूलक सामग्रीहरू देशभरका विभिन्न एफएम रेडियोहरूमार्फत प्रसारणको व्यवस्था मिलाउने कार्य गर्नेभएको छ ।
गोरखापत्र संस्थानले गोरखापत्र दैनिक, दि राईजिङ नेपाल र अनलाइनमार्फत प्रजातन्त्र दिवसका विविध पक्षहरूलाई समावेश गरी सामग्री प्रकाशन, मल्टिमिडिया कन्टेन्ट तयारी तथा प्रकाशन, विचार, अन्तर्वार्ता, लेख र रचना प्रशारण तथा प्रकाशन गर्नुपर्नेछ । संस्थानले राष्ट्रिय प्रजातन्त्र निर्माणदेखि यसको कार्यान्वयनका विविध पक्षहरूलाई समेट्ने गरी विशेषाङ्क प्रकाशन गर्ने, शुभकामना सन्देशहरू प्रकाशन गर्ने भनिएको छ ।
त्यसैगरी सूचना तथा प्रसारण विभागले सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चार माध्यमहरूमा प्रजातन्त्रको महत्त्वको सम्बन्धमा प्रकाशन, प्रसारणमा समन्वय र सहजीकरण गर्नेछ । नेपाल पत्रकार महासङ्घको समन्वयमा राष्ट्रियस्तरका पत्रपत्रिकाहरूमा विशेषाङ्करस्मारिकाको प्रकाशन साथै प्रजातन्त्रको बहुपक्षीय आयामलाई समेट्ने र लेख रचना प्रकाशनको लागि समन्वय र सहजीकरण गर्ने जिम्मा विभागलाई दिइएको छ ।
प्रतिकृया दिनुहोस्