एमाले निकट निजामती कर्मचारी संगठनको नयाँ नेतृत्व चुन्ने विषय बन्यो पेचिलो

काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको नयाँ नेतृत्व चुन्ने विषय नै पेचिलो बन्दै गएको छ ।
बुधबार राष्ट्रिय सभागृहमा महाधिवेशनको उद्घाटनमा अध्यक्षमा रेवन्त गौतम र भवानी दाहालको दाबी रहेको छ भने गौतम समर्थक चुनाव गराउनुपर्ने पक्षमा र दाहाल समर्थक सहमतिमा नेतृत्व चुन्नुपर्ने पक्षमा रहेका छन् । दुबैको दुईथरी मतले चुनावबाट चुन्ने कि सहमतिबाट भन्ने विषय पेचिलो बनेको हो ।
महाधिवेशनको उदघाटन कार्यक्रम प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । सोही दिन बेलुकाबाट बन्दसत्र सुरुहुँदा अध्यक्ष लेखनाथ कोइरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गणेशप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आज सुरु हुने बन्दसत्रमा ती प्रतिवेदनमाथि छलफल गरी पास गरिसकेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने नेपाल निजामती कर्मचारी संगठनका नेताले जानकारी दिएका छन् ।
संविधान जारी भएको एक दशक बित्नैलाग्दा समेत संघीय निजामती सेवा ऐन आउन नसकेको तथा ट्रेड युनियन अधिकार कटौतीको बहस भइरहेका बेला नेपालकै ठूलो कर्मचारी संगठनको बागडोर कसको हातमा जाला भन्ने चासो कर्मचारी वृत्तमा रहेको छ । नेपाल निजामती कर्मचारी संगठन २०४७ साल वैशाख ७ गते स्थापित भएको थियो । यसलाई निजामती क्षेत्रको पहिलो संगठन मानिन्छ । यस संगठनमा ४५ हजार सदस्य आबद्ध रहेको सो संगठनका नेताहरु दाबी गर्दछन् । नेपालमा पहिलो पटक भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा संगठनले ११७ मध्ये ८० स्थानमा जित हासिल गरेको थियो ।
प्रतिकृया दिनुहोस्