नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा

नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा

काठमाडौं । नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा जारी रहेको छ । अधिवेशनको शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

अधिवेशनमा देशभरका श्रष्टा, लेखक तथा साहित्यप्रेमीको उपस्थिति रहेको छ । आजसम्म चल्ने अधिवेशनमा विभिन्न साहित्यिक सत्र, विचारगोष्ठी तथा नेतृत्व चयन प्रक्रिया सम्पन्न हुनेछन् ।

आयोजकले यस अधिवेशनले नेपाली साहित्यिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले नेपाली लेखकहरू राष्ट्रको गौरव भएको उल्लेख गर्दै गौतम बुद्ध जन्मिएको भूमि लुम्बिनीमा साहित्यिक महोत्सव आयोजना गर्नु आयोजकको उत्कृष्ट निर्णय भएको बताएका छन् ।

अधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा देखिएको छ । निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङका अनुसार अध्यक्ष पदका लागि डा.रत्नमणि नेपाल र वियोगी बुढाथोकी प्रतिस्पर्धामा छन् ।

सहअध्यक्षमा डा.शैलेन्द्रप्रकाश नेपाल, मनोज न्यौपाने र सन्ध्या पहाडीबीच प्रतिस्पर्धा हुनेछ ।महासचिवका लागि प्रकाश बिमिल, नवीनचन्द्र घिमिरे र सोझो गाउँले चुनावी दौडमा छन् भने उपमहासचिवमा नारायण सापकोटा र सरस्वती तिमिल्सेना भिड्ने भएका छन् ।

निर्वाचन समितिका अनुसार अधिवेशनान ३९ पदका लागि ४६ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ६ उपाध्यक्ष, एक कोषाध्यक्ष, चार सचिव र २४ सदस्य पदमा एकल उम्मेदवारी दर्ता भएका कारण पद स्वतः निर्विरोध चयन भएको छ ।

 

 

लोकप्रिय