भारतको तामिलनाडु राज्यमा भारी वर्षा पछि रेल र हवाई सेवा अवरुद्ध

भारतको तामिलनाडु राज्यमा भारी वर्षा पछि रेल र हवाई सेवा अवरुद्ध

एजेन्सी । भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षाका कारण स्थानीय बस्तीहरू डुबानमा परेका छन् भने रेल र हवाई सेवा अवरुद्ध भएको छ । वर्षाकै कारण रेल तथा हवाई उडान सेवा रद्द गरिएको अधिकारीहरूले बताएका छन् । भारतीय मौसम विज्ञान विभागका अधिकारीहरूले हिन्द महासागर र दक्षिण पश्चिम बङ्गालको खाडीमा श्रीलङ्काको दक्षिणी तटमा चक्रवाती सञ्चारको प्रभावका कारण वर्षा भएको बताएका छन् ।

मौसम विज्ञान केन्द्रका अनुसार कन्याकुमारी, तेनकासी, तिरुनेलवेली र थुथुकुडी जिल्लामा अझै २४ घण्टा भारी वर्षा हुनेछ । अभूतपूर्व वर्षाले धेरै क्षेत्रहरू जलमग्न भएपछि स्थानीय अधिकारीहरूले सबै विद्यालय र क्याम्पसहरूमा बिदाको घोषणा गरेका छन् ।

अहिलेसम्म सात हजार ५ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको र उनीहरूलाई ८४ वटा राहत शिविरहरूमा राखिएको छ । बाढीका कारण थुथुकुडीमा सडकहरू पनि भत्किएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार तुतीकोरिन जिल्लामा वर्षाका कारण भएको घटनामा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण रेलको लिक बाढीमा डुबेपछि रेल सेवा समेत प्रभावित भएको छ । भारी वर्षाका कारण १७ वटा रेलको पूर्ण वा आंशिक रूपमा सेवा अवरुद्ध बनेको छ ।

लोकप्रिय