टेलिकमको निरन्तर ओरालो यात्रा

टेलिकमको निरन्तर ओरालो यात्रा

 

काठमाडौ । कुनै बेला सबैभन्दा बढी नाफा कमाउने दुरसञ्चार सेवा प्रदायक सरकारी संस्था नेपाल टेलिकमको निरन्तर ओरालो यात्रा सुरु भएको छ । असक्षम नेतृत्व, अल्छी र भ्रष्ट कर्मचारीकै कारण टेलिकमले ओरालो यात्रा सुरु भएको हो । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०÷८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको कुल आम्दानी र मुनाफा दुवैमा गिरावट आएको छ ।
आ.व. २०८०÷८१ मा टेलिकमको कुल आम्दानी ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रहेको छ । यो रकम गत वर्ष ०७९÷०८० को ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजारको तुलनामा ६.३२ प्रतिशत अर्थात् २ अर्ब ८० करोड ६५ लाख कम हो ।
कम्पनीको सञ्चालन आय पनि गत आवको तुलनामा ४.९९ प्रतिशतले घटेको छ । यो वर्ष सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रहेको छ, जुन गत आवमा ३६ अर्ब २७ करोड १४ लाख ५० हजार थियो।
यस वर्ष कम्पनीको खुद मुनाफा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रहेको छ, जुन गत आवको ७ अर्ब ९२ करोड १ लाख ५५ हजारको तुलनामा १६.४४ प्रतिशत कम हो ।
यसका साथै, कर अघिको मुनाफा पनि ३.९१ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड ९८ लाख ४ हजार पुगेको छ। कम्पनीको प्रति शेयर आम्दानी भने ३६.७७ रहेको छ ।
कम्पनीका अनुसार, ओटीटी सेवाको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय सेवा र अन्तरआवद्धता आम्दानीमा १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारको कमी ल्याएको छ। यसले समग्र भ्वाइस एसएमएस सेवामा नकारात्मक प्रभाव पारेको कम्पनीको ठहर छ । साथै, सेवा विस्तार र गुणस्तर सुधारको प्रयास गर्दा लागत बढेको तर, प्रतिफल कम देखिएको टेलिकमले जनाएको छ ।

लोकप्रिय