नारायणहिटीको ‘लाल बाकस’ कसरी हरायाे ?

नारायणहिटीको ‘लाल बाकस’ कसरी हरायाे ?

काठमाडाैँ भदाै १६ । सिँहदरबार स्थित संसदीय समितिकाे कार्यालयमा हाल संग्राहलय भएकाे नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण कागजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ । समिति अन्तर्गतकाे प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई विगतमा नारायणहिटी दरबारमा रहेको भनिएको ‘लाल बाकस’ बारे जिज्ञासा राखियो । सभापति रामनारायण बिडारीले भने, ‘“लाल बाकस खोज्नु प¥यो, तत्कालीन राजाका सचिव चीरन शम्शेर थापाले हामीसँग मौखिक रुपमा भन्नुभएको छ, त्यो हुनुपर्छ ।”

पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छोड्ने क्रममा विभिन्न निकायले सामानको जिम्मा लिए, ‘लाल बाकस’ पनि पुरातत्व विभाग मातहत राष्ट्रिय अभिलेखालयमा राख्न प्रमुखलाई खबर गरे तापनि बाकस भने त्यहाँ नआएको बताइएको छ । तत्कालीन पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालय प्रमुखलाई ‘लाल बाकस’ आउँदैछ, तयारी भएर बस्नु, त्यो भर्पाइ गर्नुपर्छ भनेर खबर गरिए पनि चिज नभएको तत्कालीन प्रमुखले संसदीय समितिलाई केही समयअघि जानकारी गराएका छन् ।

परराष्ट्र मन्त्रालयको जैशी कोठा र गुन्सी खानाका हाकिम र तत्कालीन परराष्ट्र मन्त्रालयका सचिवसमेतले मुलुकका सन्धि, सम्झौता, कानुनलगायतका महत्वपूर्ण सक्कली सबै काजगात दरबारमा अनिवार्यरुपमा बुझाएका कागजात ‘लाल बाकस’ मा राखिने गरेको जानकारी गराएका थिए । सभापति रामनारायण बिडारीले भने, “किम्वदन्ती मात्रै हो, त्यो बाकस पहिल्यैदेखि नै छैन भने त्यही कुरा गर्न प¥यो, कि यहाँ छ भन्नुप¥यो, होइन भने हरायो भन्नु प¥यो । यो विषयमा सचिवको ध्यानाकर्षण गराएको हुँ ।”

समितिले हनुमानढोकास्थित बहुमूल्य बस्तु रहेको भनिएको बन्द घरमा के कति कस्ता सामग्री छन् खोलेर हेर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले हनुमानढोका दरबार क्षेत्रका भूकम्पछिको पुनःनिर्माणका क्रममा थुपारिएका पुराना तर महत्वपूर्ण काठलाई अस्रल्लरुपमा नछोडी यथाशीघ्र व्यवस्थापन गर्न पनि मन्त्रालय पदाधिकारीलाई निर्देशन दिएको छ ।

सभापति बिडारीले भने, “पन्ध्र दिनभित्र काठ व्यवस्थापनको काम गर्नु प¥यो, त्यो काम फटाफट हुनु प¥यो ।”  समितिले केही समयअघि हनुमानढोका, नारायणहिटी, राष्ट्रिय पुस्तकालय, मृगस्थलीस्थित योगी नरहरिनाथ कुटीको स्थलगत अध्ययन अवलोकन गरेको थियो ।

लोकप्रिय