सङ्खुवासभा हत्याकाण्डका यि आराेपिकाे बयान : कसरी रिसकाे झाेँकमा ६ जनाकाे हत्या गरेँ ?

सङ्खुवासभा हत्याकाण्डका यि आराेपिकाे बयान : कसरी रिसकाे झाेँकमा ६ जनाकाे हत्या गरेँ ?

काठमाडौं, भदौ २७ गते । बहुचर्चित सङ्खुवासभाकाे मादीमा सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । गएकाे आइतबार संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई आज आइतवार सर्वाजनिक गरेको हो ।

घटनास्थल नजीकैका बासिन्दा २६ वर्षीय लोकबहादुर कार्कीलाई  सार्वजनिक गर्दै प्रदेश-१ प्रहरी प्रमुख अरुण विसीले रिसकाे आवेगमा प्रेरित भएर नर संहारकाे घटना भएकाे बताए।’ त्याे घटना कुनै योजनाबद्धरुपमा भएको होइन। यो क्राेधकाे अन्ध आवेगप्रेरित जधन्य घटना हो र जुन उनी एक्लैले गरेका हुन्’, डीआईजी बिसीले स्पष्ट पार्न खाेजे।

संखुवासभाको मादी–१ खोलागाउँमा बौद्धमान कार्कीको घरका ६ जनाको हत्या भएर विभत्स अवस्थामा शव भेटिएको थियो। बौद्धमानका एकै परिवारमा उनका श्रीमती पार्वती, छोरा तेजबहादुर, तेजबहादुरकी श्रीमती कमला, बुहारी रञ्जना, नाति विपीन तथा नातिनी गोमाको हत्या भएको थियो। घरमा रहेका मध्ये ९० वर्षीय बबौद्धमान मात्र जीवित भेटिएका थिए।

डीआईजी बिसीले घटना बिहानको ६ देखि साढे ६ बजेको बीचमा भएको बताए। प्रहरीका अनुसार मृतकमध्येका तेजबहादुर लोकबहादुरका अभिभावकजस्तै थिए।

‘लोकबहादुरका हजुराबुबाले मर्ने बेलामा तेज बहादुरलाई आफ्नो परिवारलाई पनि रेखदेख गर्न भनेका रहेछन्। त्यही कारण उनी लोकबहादुरलाई काम गर भन्दै सम्झाउने, गाली गर्ने रहेछन्’, बिसीले भने, ‘ घटनाको दिन तेजबहादुरले लोकबहादुर र उनका भाईलाई खेताला लैजाने भनेका रहेछन्। त्यसैका लागि लोकबहादुरलाई बोलाएर फर्कँदा दाउराले पछाडिबाट आक्रमण भएको रहेछ।’

तेजबहादुरको गुहार सुनेर आएका कमला र रञ्जनालाई पनि लोकबहादुरले आक्रमण गरेको बयान दिएको प्रहरीको भनाइ छ। त्यसपछि कमला र रञ्जनालाई पछ्याउँदै आएका विपीन र गोमालाई आक्रमण गरेका लोकबहादुरले घरमै गएर पार्वतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

मानसिक समस्या देखिएपछि लोकबहादुर तीन वर्षअघि मलेसियाबाट फर्किएको र औषधि सेवन गरिरहेको प्रहरीले जनाएको छ। ‘ तेजबहादुरले गाली गर्ने भएकाले लोकबहादुरलाई साह्रो रिस उठेको रहेछ। घरमा अरु कोही नभएको बेला तेजबहादुर आएकाले त्यही समयमा उनले आक्रमण गरेका रहेछन्’, डीआईजी बिसीले भने।

लोकप्रिय