पातलो प्लाष्टिकको झोला प्रतिवन्ध लागु

पातलो प्लाष्टिकको झोला प्रतिवन्ध लागु

काठमाडौं, भदौ २९ । मानव समुदायकाे स्वास्थ्यमा हानिकारक मानिएकाे वातावरणीय प्रदूषण नै यसका मुख्य कारण हाे भन्दै सरकारले ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोलामा प्रतिवन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गरी झोला उत्पादन, प्रयोग र विक्री वितरणमा पूर्ण रुपमा प्रतिवन्ध लगाएको हो ।

सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा नै उल्लेख गरी ४० माइक्रोन भन्दा पातलो झोलालाई पूर्ण रुपमा प्रतिवन्ध लगाउने जनाएको थियो सोही अनुसार सोमबारदेखि प्रतिवन्ध लगाएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बुद्धिसागर पौडेलले जानकारी दिनुभयो ।

यस अघि पनि सरकारले काठमाडौं उपत्यकाका लागि प्रतिवन्ध लगाएको थियो भने त्यसपछि सूचना संसोधन गरी ३० माइक्रोनमा झारेको थियो । पुनः सरकारले ४० माइक्रोन भन्दा पातलो झोला वातावरणीय दृष्टीकोणले बढी हानिकारक भएको भन्दै प्रतिवन्ध लगाउने निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ लाई पुर्ण रुपमा पालना गरी प्रदूषण नियन्त्रणमा लागि पर्ने र प्रत्येक स्थानीयतहले समेत कानुनलाई पालना गराई अनुगमनमा सहयोग गर्नु मन्त्रालयले आव्हान गरी सकेको उहाँले बताउनुभयो । यसअघि उद्योग, स्थानीयतहहरुमा जनचेतना तथा सचेतनाका कार्यक्रम सम्पन्न गरी सकेकाले सूचनालाई कार्यन्वयन गर्न मन्त्रालयले निर्देशन समेत दिई सकेको जनाएको छ ।

प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न, सपिङ्गमल तथा डिपार्टमेन्टल स्टोर लगायत सबै व्यापारिक प्रतिष्ठानमा प्लाष्टिकको झोलाको सट्टा सूति, जुट वा कागजका झोला प्रयोग गर्नुपर्ने व्यवस्था गर्न सुझाव मन्त्रालयको छ ।

लोकप्रिय