बरिष्ठ नेता माधव नेपालसँग ५–६ दिन पहिले मेरो छलफल भयो । मैले पहिले नै सुझाव राखेको थिएँ, म सहअध्यक्षमा रहँदा तपाईंलाई सहयोग पुग्छ । उहाँले भन्नुभयो, ‘सहअध्यक्ष भनेपछि दोस्रो नम्बरको वरियता हुन्छ, वरिष्ठ नेता झलनाथ हुनुहुन्छ ।’
मैले भनेँ, उहाँ (झलनाथ) लाई वरियतामा दुई नम्बरमै राख्नु, म सहअध्यक्ष भए पनि तीन नम्बरमा राख्दा तपाईंलाई सहयोगका निम्ति ठिक हुन्छ ।
यस्तो सल्लाह गर्दा केशवलाल र हरि पराजुली पनि हुनुहुन्थ्यो । त्यस क्रममा माधव नेपालले सल्लाह गरेर जवाफ दिन्छु भन्नुभयो । तर, जवाफ दिनुभएन । साथीहरूसँग सल्लाह गरेर जवाफ दिन्छु भन्नुभएको, आजसम्म केही पनि छैन । अहिले मेरो विरुद्धमा एउटा आर्टिकल आएको छ । माधव नेपालको पार्टीले मेरो चरित्र हत्या गर्यो ।
पार्टी दर्ता भएपछि मैले घोषणापत्र हेरेँ । मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद मात्रै रहेछ, जबज हटेको छ । त्यो घोषणापत्र लिएर म, हरि पराजुली र केशवलाल श्रेष्ठ माधव नेपालकोमा गयौँ । जबज छुटेको हो कि छुटाएको हो भन्दा उहाँले यो नहालेकै हो भन्नुभयो ।
उहाँले जनताको बहुदलीय जनवादलाई सिद्धान्तमा राख्न सक्नुहुन्न । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तबाट हटाइसकेपछि त म बस्न सक्दैन । त्यसलाई पुनर्विचार गर्नुहुन्छ भने विचार गर्न सकिन्छ, यदि पुनर्विचार हुँदैन भने म तपाईंसँग रहन सक्दिनँ भन्ने कुराकानी गरेँ ।
उहाँले त्यसो नगर्नुस्, यहीँभित्र छलफल गरौँ, भित्र छलफल गरेपछि (जबज) पुनर्स्थापना पनि गर्न सकिन्छ, तर छिटो आउनुस् भन्नुभयो । मैले छिटो आउने कुरा होइन, अरू पनि व्यवस्थापन गर्न बाँकी नै छ, विधानमा अरू के के छ, त्यो हेर्न बाँकी नै छ । त्यसैले मेरो पहिलो प्रतिक्रिया जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्तबाट हटाइसकेपछि म रहन सक्दैन, तपाईंले यो हटाउनुहुन्छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ भन्दिएँ । तपाईंले पार्टी दर्ता गरेपछि आउँछु भनेको थिएँ । तर, अब यो घोषणापत्रमा तपाईंले जबज हटाइसकेपछि म आउनुको अर्थ हुँदैन । जबज हटेपछि म पार्टीमा आउन सक्दैन भनेर आएको हो ।
उहाँले पछि पुनर्स्थापना गर्न सकिन्छ नि भन्नुभयो । उहाँ आइहाल्नुस्, आइहाल्नुस् मात्रै भन्नुहुन्छ । उहाँले तपाई आउनुस्, छलफल गर्नुस्, साथीहरूलाई कन्भिन्स गर्नुस् भन्नुभयो ।
म तपाईंले हटाएको पार्टीमा छिर्ने, अनि गइसकेपछि मैले कुन नैतिकताका आधारमा पुनर्स्थापित गर्नुपर्छ भनेर सङ्घर्ष गर्न सक्छु ? म त्यो सङ्घर्ष गर्न किन आउने ? म त काम गर्न आउने हो, सहयोग गर्न नै हो । मैले तपाईंको पद मागेको छैन । अहिले पार्टी निर