छोराको हत्या गर्ने धम्की दिँदै चार वर्ष निरन्तर यौन शोषण
तुफान न्यौपाने
छोरा हुर्काउँदै सासू–ससुरासँग बस्दै आएकी उनी २०७४ पुस १५ को रात आफ्नै नातेदारबाट बलात्कृत भइन् । नाबालक छोरालाई मारिदिने धम्कीका कारण उनले कसैलाई भन्न सकिनन् । त्यसयता उनी निरन्तर यौन शोषणमा परिन् ।
पहिलो दिनको घटनाको भिडियो र फोटो बनाएको र आफूले भनेको समयमा नआए आफन्तलाई पठाइदिन्छु भन्दै उनले धम्क्याउने गरेको पीडितको भनाइ छ । …फेसबुकबाट पनि लिक गरिदिन्छु भन्दै धम्क्याएर निरन्तर शोषण गर्यो,’ उनले भनिन् ।
गत वैशाखको एक दिन उनले चार वर्षदेखि शोषण गर्दै आएका नुवाकोटका पशुपति मैनालीको दबाब मान्न सकिनन् । त्यसपछि जबर्जस्ती गर्दा लिएका तस्बिर मैनालीले उनका घरका मानिसलाई पठाइदिए । त्यसपछि घरबाट निकालिएकी उनी माइत पुगिन् । त्यहाँ पनि मैनालीले तस्बिर पठाइदिएपछि बस्ने वातावरण भएन । ‘छोराछोरी छोडेर हिँडेको १० महिना भयो,’ उनले भनिन्, ‘देख्न नपाएरै छटपटाएकी छु । उनीहरूलाई पनि आमालाई कति देख्न मन लाग्दो हो ।’
पहिलो पटक शोषणमा पर्दा उनका छोरा चार वर्षका थिए, पछि जन्मिएकी छोरी पनि अहिले तीन वर्ष पुग्न लागिन् । तर, गत वैशाखमा घरबाट निकालिएपछि उनले आफ्ना छोराछोरीलाई देख्न पनि पाएकी छैनन् । …सुरुमा छोरालाई मारिदिन्छु भन्यो, नमाने अपहरण गरिदिन्छु भन्दै धम्क्याउँथ्यो । छोराले पनि उसलाई देखिराखेको÷चिनिराखेकाले स्कुलबाट फकाएरै अपहरण गर्दिन्छ कि भन्ने डरले जे–जे भन्छ, त्यो मान्नुपर्ने बाध्यतामा थिएँ,’ उनले भनिन्, ‘जुन छोरालाई बचाउन यत्रो शोषणमा परें, अहिले उसैबाट टाढिनुपरेको छ । एउटी महिलालाई यस्तै बेला त हो घरको र माइतीको साथ चाहिने । मलाई भने दुवैबाट निकालिदिए ।’
घर र माइतीबाटै निकालिएपछि उनी करिब ६ महिना महेन्द्रनगर गएर दिदीकहाँ बसिन् । मैनाली नयाँ–नयाँ नम्बरबाट फोन गरिरहन्थे, ती पनि उनले ब्लक गरिन् । तर, त्यहाँ सधैंभर बस्न सम्भव थिएन, फर्केर काठमाडौं आइन् । एक संस्थामा शरण लिइरहेकी उनलाई गत कात्तिकमा भेटेर फोटो र भिडियो डिलिट गरिदिने मैनालीको प्रस्ताव आयो । कात्तिक १५ गते बागबजारको एउटा होटलमा भेट्न पुगेकी उनी त्यहाँ पनि बलात्कारको सिकार भइन् । तर, भिडियो र फोटो डिलिट गर्न भने मैनालीले अस्वीकार गरे । त्यसपछि त्यहींबाट प्रहरीलाई खबर गरिन् । प्रहरी होटल पुगेर मुचुल्का बनायो । स्वास्थ्य परीक्षणका लागि पठायो । ‘दायाँ स्तनमा टोकेको मार्क’ सहितको प्रतिवेदन प्राप्त भएपछि प्रहरीले मैनालीलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा चलायो ।
बलात्कार लगायतका यौन हिंसापीडितको परिचय गोप्य राख्नुपर्ने कानुनी व्यवस्थाका कारण अदालती प्रक्रियाका लागि प्रहरीले उनको नाम …सिंहदरबार ८४’ राखिदिएको छ । जिल्ला सरकारी वकिल र मुद्दाको सुनुवाइका क्रममा काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बाँस्तोलाको इजलासमा उनले एउटै बयान गरेकी छन् । ‘कोठामा गएपछि मैले मोबाइल माग्दा उसले यो एउटा मोबाइलमा मात्र होइन तीनवटा फोनमा १६ जीबीको मेमोरीमा फोटो भिडियो छ भन्दै धम्क्यायो । कोठाको ढोका खुल्लै थियो, उसले चुकुल लगाएकाले मैले डिलिट गर्न मात्रै किन चुकुल लगाएको भनी प्रतिवाद गरें । मोबाइल दिनुस् भन्दा नदिई जबर्जस्ती गर्न खोज्यो । लात्ताले समेत हानी मेरै अगाडि श्रीमान्लाई फोटो, भिडियो पठाइदिन्छु भनी धम्की दियो । प्रतिकार गर्न खोज्दा झगडा भयो । उसले जबर्जस्ती गर्दा टोकेको दाग स्वास्थ्य परीक्षणमा समेत देखिएको छ,’ सिंहदरबार ८४ ले अदालतमा गरेको बयानमा भनेकी छन्, ‘जबर्जस्ती करणी गरिसकेपछि ऊ निस्केर गयो । म धेरै रोई रिसेप्सनमा आई पुलिसलाई खबर गरेकी हुँ । मलाई ज्यान लिने, छोरा अपहरण गरिदिने तथा थाहा नदिई बनाएको भिडियो प्रकाशित गरिदिने डर, त्रास देखाई परिबन्धमा पारी जबर्जस्ती करणी गरेको हो ।’
जिल्ला न्यायाधीश केशवप्रसाद बाँस्तोलाले गत मंसिर १३ मा ‘मैनाली निर्दोष छन् भन्ने अवस्था नदेखिएको’ भन्दै थुनामा पठाउने आदेश गरेका थिए । न्यायाधीश बाँस्तोलाकै इजलासमा सिंहदरबार ८४ ले मैनालीले सरकारी वकिलको कार्यालयमा प्रहरीको बीचबाटै आफूलाई मारिदिने धम्की दिएको बताएकी थिइन् । साथै थुनामा रहेका बखत पनि फोन गरेर आफू निस्किएपछि मारिदिने धम्की दिएको उनको बयानमा उल्लेख छ ।
जिल्ला न्यायाधीश बाँस्तोलाले ६ वटा आधार उल्लेख गर्दै मुद्दाको अन्तिम टुंगो नलागुन्जेल मैनालीलाई थुनामा राख्न आदेश दिएका थिए । जबर्जस्ती गरी भिडियो बनाएर डरमा पारी निरन्तर बलात्कार गरेको भन्दै किटानी जाहेरी परेको, अनुसन्धानका क्रममा प्रहरीले बुझेका व्यक्तिले गरेको घटना विवरण कागजमा पनि मैनालीमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ भनेको, पीडितले जाहेरी व्यहोरालाई थप स्पष्ट पार्दै अनुसन्धानका क्रममा कागज गरेको देखिएको, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा शरीरमा दाँतले टोकेको दाग रहेको, मैनालीले सहमतिमा करणी भएको स्विकारेको, घटनास्थल मुचुल्कामा उल्लिखित विवरण आदिका आधारमा थुनामा पठाउने आदेश गरेका थिए ।
जिल्ला अदालतको आदेशविरुद्ध मैनालीले पाटन उच्च अदालतमा निवेदन दिए । उच्चका न्यायाधीशद्वय भोजराज अधिकारी र जगदीश घिमिरेले गत माघ ६ गते मैनालीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेका छन् । ‘धरौटी बुझाएर छुटेर आएपछि तँलाई भेटेमा मारिदिन्छु भन्दै नयाँ–नयाँ नम्बरबाट फोन गर्दै धम्की दिँदै गरेको छ,’ सिंहदरबार ८४ ले भनिन् ।
उच्च अदालतले मैनालीलाई धरौटीमा छाड्ने आदेश गर्दा तीन आधार उल्लेख गरेको छ । पहिलो– मैनालीले सहमतिमा करणी गरेको भनेको, दोस्रो– पीडितले पछिल्लो चार वर्षदेखि जबर्जस्ती गर्दै आएको बताए पनि गत कात्तिक १५ मा मात्र जाहेरी गरेको देखिएको र तेस्रो– स्वास्थ्य परीक्षण प्रतिवेदनमा पहिले नै योनिको झिल्ली च्यातिएको भन्ने देखिएको । उच्च सरकारी वकिलको कार्यालय पाटनका एक वकिलका अनुसार यी तीनै आधार अनुपयुक्त छन् । ‘अभियोग लागेको व्यक्तिले त अस्वीकार गरिहाल्छ । उसले कसरी जोगिने भन्ने उपाय खोज्न सहमतिमा करणी भएको भन्यो । अदालतले त्यसैलाई आधार मान्यो,’ ती सरकारी वकिलले भने, ‘पछिल्लो घटना कात्तिक १५ मा भएकोमा त्यसको हदम्यादभित्रै मुद्दा दायर भएको छ । अदालतले पीडितलाई पहिल्यै किन उजुरी नगरेको भनेर उल्टै सजाय गर्न खोजेको छ । दुई सन्तानकी आमाको यौन झिल्ली पहिल्यै च्यातिएको कारण दिएर अदालतले बलात्कार नभएको अनुमान गर्न कसरी मिल्छ < यो तर्कले त विवाहित महिलालाई बलात्कारमा न्याय खोज्नबाटै निरुत्साहित गर्छ ।’
उच्च अदालतले जुन बयानलाई आधार मानेर उनलाई धरौटीमा छाड्ने आदेश गर्यो, मैनालीका ती बयान आफैंमा बाझिने खालका देखिन्छन् । जस्तो, उनले प्रहरीसमक्ष बयान गर्दा आफूहरूबीच चार वर्षदेखि सहमतिमै यौन सम्बन्ध रहँदै आएको र कात्तिक १५ मा पनि सहमतिमै सम्बन्ध भएको बताएका छन् । अदालतमा भने आफूहरूबीच सामान्य चिनजान मात्र रहेको, कहिल्यै यौन सम्बन्ध नभएको र कात्तिक १५ गते होटलमा पनि कुनै सम्बन्ध नभएको बयान दिएका छन् । आफूले पानी पिउँदै गर्दा पीडितले हातले सारेकाले मात्रै घटनास्थलमा तन्ना मडारिएको देखिएको उनको भनाइ छ । त्यस्तै, कात्तिक १५ गते गोंगबुमा अकस्मात् भेट भएपछि पीडितले नै जमलसम्म मोटरसाइकलमा पुर्याइदेऊ भन्ने अनुरोध गरेकाले आफूले लिफ्ट दिएको, उनकै अनुरोधमा चिया खाऊँ भनेकाले होटलसम्म पुगेको बयान दिएका छन् । तर, अदालतमा उक्त दिन आफू नुवाकोटमै रहेका बेला पीडितले गोंगबुबाट जमलसम्म जान बाइक लिएर आउनु भनी ह्वाट्सएपमा फोन गरेकाले आफू आएको र लिफ्ट दिएको मैनालीले बताएका छन् । ‘मैले जमलसम्म बाइकमा ल्याइदिएपछि जाहेरवालाले नै बागबजारमा होटलको रुम बुक गरेको छु जाऊँ भनेकाले गएको हुँ । त्यसपछि हामीबीच गफ मात्र भएको हो । अरू केही कार्य गरेको होइन,’ उनको बयान छ । जबकि होटल सञ्चालकले अदालतमा गरेको बयान र प्रहरीले पेस गरेको होटल रजिस्टरमा मैनालीकै नाममा कोठा बुक भएको देखिन्छ ।
मैनालीले भिडियो तथा फोटो खिच्दै नखिचेको र कसैलाई नपठाएको दाबी गरेका छन् । तर, प्रहरीले पीडितको मोबाइलबाट मैनालीले पठाएका तस्बिर प्रिन्ट गरेर अदालतमा बुझाएको छ । ती तस्बिरबारे सोध्दा मैनालीले अरूले नै आफ्नो फेसबुक आईडी ह्याक गरी चलाएको जिकिर गरेका छन् । प्रहरीले अदालतमा पेस गरेका कागजातमा मैनालीले फोटो/भिडियो डिलिट गर्न भनी बोलाएको च्याटमा मोटरसाइकलमा टाढा कतै जान बारम्बार दबाब दिइरहेको देखिन्छ । ‘मलाई कसैको मोटरसाइकल चढ्नु पनि छैन, कतै जानु पनि छैन । सार्वजनिक स्थानमा भेट्ने, मैले फोटो र भिडियो डिलिट गरेपछि छुट्टिने,’ सिंहदरबार ८४’ ले भनेकी छन् ।
(कान्तिपुरबाट साभार)
प्रतिकृया दिनुहोस्