जुन फोटोले युक्रेनी राष्ट्रपति जेलेन्स्की बने विश्व नायक
पछिल्लो समय रुस–युक्रेनबीच युद्ध चलिरहेको छ । युद्धबाट हजारौं सैनिक लगायत सर्वसाधारणहरुले ज्यान गुमाएका छन्, हजारौं मानिसहरु घाइते भएका छन् । अरबौं डलर बराबरको भौतिक संरचनाहरु क्षतविक्षत् भएका छन् भने विश्वकै अर्थतन्त्रमा हलचल ल्याईरहेको छ । यति नै बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको एउटा फोटोले विश्व समुदायलाई नै नतमस्तक बनाईदिएको छ भने युद्धबाट पीडाबोध गरिरहेका युक्रेनी जनतालाई दुश्मनसँग भिड्ने गरी उर्जा थपिदिएको छ ।
विश्वका अधिकांश शासकहरु जब संकट आईपर्छ तब आफ्नो सुरक्षाका लागि जुनसुकै हत्कण्डा अपनाउँछन् । कुनै कुनै शासकहरु त आफ्नो सुरक्षाका लागि देश नै छाडेर भाग्छन् । तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जहाँ जहाँ रुसी सेनाले आक्रमण गर्छन् त्यहीँ गएर प्रतिकारमा उत्रिन्छन् । राष्ट्रपति नै ज्यानको बाजी लगाएपछि सिपाहीहरु देशका लागि आफ्नो ज्यानको प्रवाह नगरी लडिरहेका छन् । यसले विश्वका शासकहरुलाई ध्यानकेन्द्रित गर्न बाध्य बनाएको छ । भ्रष्टाचारी र खोक्रो राष्ट्रवाद बोकेर हिँड्ने शासकहरुलाई लज्जित बनाएको छ । देश र जनताको लागि लड्नुपर्छ भन्ने पाठ सिकाएको छ ।
राजनीतिको कुनै पनि अनुभव नभएका हास्य कलाकार भोलोदिमिर जेलेन्स्की झन्डै तीन वर्षअघि युक्रेनको राष्ट्रपति बनेका थिए । अहिले अकस्मात् उनी विश्वसनीय युद्धनायकका रूपमा उदाएका छन् । उनले आफ्ना सम्बोधन र भिडिओ सेल्फीहरूका माध्यमबाट रुसी अतिक्रमणविरुद्ध विद्यमान युक्रेनी आक्रोशलाई सशक्त रूपमा प्रस्तुत गरिरहेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन झन्झन् अपत्यारिला बन्दै आएका छन् र उनले युक्रेनबाट भिन्न भएका डोनेट्स्क र लुहान्स्क गणतन्त्रमा युक्रेनले ‘नरसंहार’ मच्याएको आरोप लगाएका छन् । उनले युक्रेनलाई ‘नाजीकरण’ बाट मुक्त गर्नुपर्ने बताइरहँदा रुसी भाषा बोल्ने यहुदी परिवारका जेलेन्स्की शालीन, दृढ र प्रखर देखिएका छन् ।
दुवै देशलाई कुनै प्रकारको युद्ध आवश्यकता भएको उनले पृष्ठभूमिमा युक्रेनको नक्सा भएको स्थानमा भनेका थिए । उनले युक्रेनमा आक्रमण गरिए आफ्नो रक्षा गर्ने बताएका थिए । “तपाईँले हामीलाई आक्रमण गर्नुभयो भने हाम्रो अनुहार देख्नुहुन्छ हामी पिठिउँ फर्काउनेछैनौँ, सामना गर्नेछौँ ।” राजनीतिमा जेलेन्स्कीको उदय पनि कलासँग जोडिएको छ ।
हास्य कलाकारका रूपमा उनको सबैभन्दा चर्चित भूमिका सर्भेन्ट अफ द पीपल नामक टेलिभिजन श्रृङ्खलामा छ जसमा उनले शिक्षकको भूमिका निर्वाह गरेका छन् । राजनीतिमा व्याप्त भ्रष्टाचारबारेको उनको एउटा भाइरल भिडिओ उनका एक विद्यार्थीले पोस्ट गरिदिएपछि ती शिक्षकको बाटो राजनीतितर्फ मोडिएको कथा उक्त श्रृङ्खलामा देखाइएको छ ।
सन् २०१९ को राष्ट्रपतीय चुनावमा उनले दिएको उम्मेदवारीलाई पनि कतिपयले ठट्टाको रूपमा लिए । उनको दलको नाम जनताको नोकर अर्थात् सर्भेन्ट अफ द पीपल पार्टी हो । तर भ्रष्टाचारविरुद्ध लड्ने र देशको पूर्वमा शान्ति ल्याउने प्रतिबद्धता जनाएका उनले खसेको मतमध्ये ७३ प्रतिशत ल्याए ।
युक्रेनका राष्ट्रपतिसँग महत्वपूर्ण शक्ति भएपनि त्यसलाई व्यवहारमा लागु गर्न कठिन छ, सञ्चार परामर्शदाता यार्याना क्ल्यूचस्कोभ्स्का भन्छिन् । चुनावमा प्रतिबद्धता जनाउनु र निर्वाचित भएर त्यसलाई कार्यान्वयन गर्नु जेलेन्स्कीका लागि पनि एउटा चुनौती थियो ।
सत्तासँग निकट धनाढ्य इहोर कोलोमोइस्कीको समर्थन जेलेन्स्कीलाई आफ्नो चुनावी अभियानमा रहेको थियो । त्यस कारण धेरैले उनी संयुक्त राज्य अमेरिकाले सम्भावित ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गरिरहेका एक व्यक्तिको कठपुतली बन्ने आशङ्का व्यक्त गरेका थिए । तर आफ्ना आलोचकहरूले ठानेकोभन्दा उनी धेरै स्वतन्त्र देखिए । उनले राष्ट्रियकरण हुनुअघि कोलोमोइस्कीको स्वामित्वमा रहेको प्राइभाटब्याङ्कलाई पुनः निजीकरण गर्न अस्वीकार गरेका थिए ।
युक्रेनमा भ्रष्टाचारले दह्रो ढङ्गले जरा गाडेको छ र सत्तासँग निकट धनाढ्यहरूलाई लक्षित गरेको कानुनले त्यस्ता केही व्यक्तिहरूलाई नियमन गर्ने र अरूलाई नगर्ने आशङ्काहरू व्यक्त भएका छन् । जेलेन्स्कीका मूख्य राजनीतिक प्रतिद्वन्द्वी पेट्रो पोरोसेन्कोविरुद्ध लगाइएका आरोपहरू राजनीतिक रूपले पूर्वाग्रही रहेका कतिपय पश्चिमा अधिकारीहरूले बताउँदै आएका छन् ।
झन्डै १४ हजार जनाको ज्यान लिनेगरी पूर्वी युक्रेनमा भएको द्वन्द्वको समाधान खोज्न रुससँग वार्ता गर्ने उनको प्रयासले सीमित सफलतामात्रै हात पारेको थियो । केही बन्दीहरू साटिएका थिए भने शान्ति प्रक्रियाको एउटा अङ्ग रहेको मिन्स्क सम्झौताको कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि भएन । सन् २०२० मा उनको जनमत निरन्तर ओरालो लागिरह्यो ।
त्यसपछि जेलेन्स्कीले युरोपेली संघ र नेटो सैन्य गठबन्धनको सदस्यताको विषयलाई अझ जोडतोडले उठाए । उक्त कदमले रुसी राष्ट्रपतिलाई आक्रोशित बनाउने प्रष्टै थियो । तर यार्याना क्ल्यूचस्कोभ्स्काका अनुसार पूर्वी युक्रेनको द्वन्द्व र रुससँगको सम्बन्धबारे जेलेन्स्कीका भनाइ धेरै युक्रेनीले केही दिनअघिसम्म पनि साहसिक लाग्दैनथ्यो ।
युद्धको चर्चा चर्किँदै जाँदा उनले शान्ति दिवसको घोषणा गरे र युक्रेनतर्फ अग्रमोर्चामा निरन्तर युद्धविरामको उल्लङ्घन भइरहँदा पनि उनले कूटनीतिक समाधानमा जोड दिइरहे । “उनले युद्ध, लडाइँ र कुनै पनि सैनिक विषयवस्तु छलिरहे । त्यो उनले आफूले सहज महसुस गर्ने क्षेत्र थिएन र त्यसबारे उनी सार्वजनिक टिप्पणी गर्न पनि चाहँदैनथे ।”
अमेरिका र अरू पश्चिमा सरकारहरूले रुसबाट हमला अवश्यम्भावी रहेको चेतावनी दिइरहँदा उनले अमेरिकी सञ्चार रणनीति “युक्रेनका लागि महँगो” पर्न सक्ने चेतावनी दिएका थिए । तर म्युनिख सुरक्षा सम्मेलनमा फेब्रअरी १९ मा गरेको सम्बोधनपछि उनको भाषा बदलियो । त्यसपछि आफू जेलेन्स्कीको प्रशंसक बनेको क्ल्यूचस्कोभ्स्का बताउँछिन् ।
आफ्नो सम्बोधनको सुरुमा उनले देशको पूर्वमा रहेको एउटा पूर्व प्राथमिक विद्यालयको भ्रमणको सन्दर्भ जोडेका थिए । केही दिन पहिले मात्रै उक्त विद्यालय क्षेप्यास्त्र हमलामा परेको थियो । “जब विद्यालयको खेलमैदानमा भ्वाङ पर्छ बालबालिकाले प्रश्न गर्छन् के विश्वले बीसौँ शताब्दीको गल्तीलाई बिर्सिसक्यो ?”
“हात बाँधेर बस्दा तपाईँको पनि साथ रहेको ठहर्छ,” पश्चिमा कूटनीतिज्ञ तथा प्रतिरक्षा अधिकारीहरूसँग उनले भने । उनले १५ वर्षअघि त्यही सम्मेलनमा भ्लादिमिर पुटिनले अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई अस्वीकार गरेको र रुसको पुनः उदय हुनेमा जोड दिएको कुरा सम्झाए । “विश्वले कसरी प्रतिक्रिया जनायो ? तुष्टीकरण गरेर ।”
बीबीसीको सहयोगमा
प्रतिकृया दिनुहोस्