याङ्गोले दियो १०० राइडरलाई हेलमेट, ज्याकेट र ट्राउजर
काठमाडौँ । इड्राइभ नेपाल र फच्र्यून ब्रिजले स्कुटर राइडरहरुलाई सडक सुरक्षा र ट्राफिक नियमको सम्बन्धमा अभिमुखिकरण गरेको छ । मङ्गलबार भक्तपुरमा इड्राइभ नेपाल र फच्र्यून ब्रिजका १०० जना राइडरहरुलाई अभिमुखिकरण गरिएको हो ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीको प्रमुख आतिथ्यता र इड्राइभ नेपालका अध्यक्ष राजेश मास्केको अध्यक्षतामा भएको कार्यक्रममा राइडरहरुले अपनाउनुपर्ने सुरक्षाका विभिन्न उपायहरुको सन्दर्भमा सचेत गराइएको थियो । सोही अवसरमा याङ्गोको तर्फबाट १०० जना राइडरहरुलाई हेलमेट, ज्याकेट र ट्राउजर प्रदान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रहरि वरिष्ठ उपरीक्षक अधिकारीले दुई पाङ्ग्रे सवारी साधनको लापरबाही, तिव्र गति र मध्यपान सेवन गरेर सवारी साधन चलाउनुले काठमाडौँ उपत्यकामा धेरै दुर्घटना हुने गरेको भन्दै यसप्रति सबै राइडरहरु सचेत हुनुपर्ने बताए । राइडरहरुले आफुबाट दुर्घटना हुँदैन भन्ने उच्च मनोबलका साथ सवारी चलाउनाले पनि दुर्घटना निम्तिने गरेको भन्दै आफुबाट पनि दुर्घटना हुनसक्छ भन्ने कुरामा हमेसा ख्याल गर्दै काम गर्न उनले आग्रह गरे । अधिकारीले राइडरहरुले महिलाहरुलाई अनावश्यक रुपमा प्रश्न गर्ने र रेकर्ड गरेर सामाजिक सञ्जालमा हाल्ने प्रचलन बढिरहेको भन्दै त्यसो नगर्न पनि आग्रह गरे । ‘महिला दिदीबहिनीहरुलाई सम्मान गरौँ । अनेक प्रश्न गरेर सोसल मिडियामा नहालौँ’, उनले भने, ‘ट्राफिक नियमको पालना गरौँ ।’
दुर्घटनाबाट बच्नका लागि ग्राहकलाई पनि हेल्मेट लगाउने व्यवस्था गर्न प्रहरि वरिष्ठ उपरीक्षक अधिकारीको आग्रह थियो ।
कार्यक्रममा बोल्दै इड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले इड्राइभ नेपाल र फच्र्यून ब्रिजका अन्तर्गतका राइडरहरुलाई २ वटा हेल्मेटको व्यवस्था गर्दै ग्राहकहरुलाई पनि हेल्मेट लगाउने व्यवस्था गर्ने बताए । उनले आफुहरु चालकसहित ग्राहकको सुरक्षामा पनि उत्तिकै संवेदनशिल रहेको भन्दै उनीहरुको सुरक्षामा ध्यान दिने बताए । उनले हाल कम्पनीले राइडरहरुलाई चलाउनका लागि दिएको स्कुटरहरु आफुहरुले खरिद गरेको साउँ रकम उठेपछि राइडरहरुलाई नै सदाका लागि दिने पनि बताए । उनले आफुहरुले राइडरहरुलाई बारम्बार सुरक्षाका लागि सचेत गराउँदै आएको उल्लेख गर्दै पहिलो प्राथमिकता नै सुरक्षालाई राखेको उल्लेख गरे । ‘सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो । राइडर र प्यासेन्जर दुवैको सुरक्षाका लागि हामी पनि सजग र सचेत छौँ ।’ उनले भने ।


प्रतिकृया दिनुहोस्