सत्तागणितभन्दा माथि उठ्ने कि

सत्तागणितभन्दा माथि उठ्ने कि

 

भक्तपुर–१ नेपाली कांग्रेसको ऐतिहासिक क्षेत्र मात्र होइन, सचेत मतदाता र वैचारिक राजनीति जोगिइरहेको दुर्लभ क्षेत्र पनि हो। यही क्षेत्रमा २०८२ को निर्वाचनका लागि न्याय क्षेत्रका बरिष्ठ अधिवक्ता तथा कांग्रेसका अनुभवी नेता आदरणीय बाबुराजा जोशीलाई सर्वसम्मत उम्मेदवारका रूपमा अघि सारिनु सामान्य औपचारिकता होइन, यो कांग्रेसको राजनीतिक आत्मरक्षाको निर्णय हो।
आजको नेपाली राजनीतिमा समस्या पात्रको अभाव होइन, विश्वसनीय नेतृत्वको संकट हो। नयाँ अनुहारको नाममा अपरिपक्वता र पुरानो अनुभवको नाममा सत्ता–लोलुपता हाबी भएको अवस्थामा बाबुराजा जोशीजस्तो व्यक्ति उम्मेदवार हुनु कांग्रेसका लागि मात्र होइन, लोकतन्त्रका लागि पनि आवश्यक सन्तुलन हो। उहाँको पृष्ठभूमि सत्ता सौदाबाजीभन्दा बाहिर, संविधान र कानुनी मर्यादाभित्र उभिएको छ—जुन आजको राजनीतिमा दुर्लभ गुण हो।
तर यहाँ सबैभन्दा संवेदनशील प्रश्न उठ्छ—
यदि नेकपा (एमाले)को समर्थन प्राप्त हुन्छ भने, त्यो समर्थन किन र केका लागि ?
के यो समर्थन वैचारिक सहमतिको उपज हो ?
कि फेरि एकपटक सत्ता र सिटको अंक गणित मिलाउने परम्परागत खेल ?
यदि एमालेको समर्थन लोकतान्त्रिक स्थायित्व, संस्थागत सुशासन र विकासका साझा एजेन्डामा आधारित हुन्छ भने, यो सहकार्य सकारात्मक उदाहरण बन्न सक्छ। तर यदि यो समर्थन केवल चुनाव जितेपछि हुने शक्ति बाँडफाँडको अग्रिम सम्झौता हो भने, यसले नयाँ होइन, पुरानै रोगलाई निरन्तरता दिनेछ।
नेपाली राजनीति आज स्पष्ट दिशाहीनतामा छ। दलहरू चुनावअघि शत्रु र चुनावपछि साझेदार बन्ने संस्कारले जनविश्वास कमजोर बनाएको छ। यस्तो अवस्थामा भक्तपुर–१ बाट सुरु हुने सहकार्य नयाँ राजनीतिक संस्कृति बन्ने कि पुरानै अवसरवादको पुनरावृत्ति हुने—त्यसको परीक्षण यही निर्वाचन हो।
आगामी संघीय, प्रदेश र स्थानीय तहका निर्वाचनसम्म सहकार्यको कुरा गर्नु आफैँमा ठूलो राजनीतिक जिम्मेवारी हो। सहकार्य तब मात्र अर्थपूर्ण हुन्छ, जब जनतालाई स्पष्ट भनिन्छ—
हामी केमा सहमत छौँ,
केमा असहमत छौँ,
र सत्ता बाहेक हाम्रो साझा लक्ष्य के हो।
अन्ततः भक्तपुर–१ को चुनाव कुनै एक व्यक्तिको जित–हारको विषय होइन। यो कांग्रेसले आफ्नो वैचारिक गढ जोगाउन सक्छ कि सक्दैन भन्ने प्रश्न हो। यो एमालेले जिम्मेवार प्रतिपक्ष र सहकार्यको सीमाना बुझ्न सक्छ कि सक्दैन भन्ने परीक्षा हो। र सबैभन्दा महत्त्वपूर्ण—यो नेपाली राजनीतिले संख्याको खेलबाट माथि उठेर मूल्यको राजनीति गर्न सक्छ कि सक्दैन भन्ने निर्णायक मोड हो।
यदि बाबुराजा जोशीको उम्मेदवारी र सम्भावित सहकार्यले यो मापदण्ड पूरा गर्छ भने, भक्तपुर–१ बाट देशले नयाँ राजनीतिक सन्देश पाउनेछ। नत्र, अर्को चुनाव पनि अर्को सम्झौताको कथामै सीमित हुनेछ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज केवल राष्ट्रिय राजनीतिका केन्द्रमा मात्र छैनन्, उनी भक्तपुरको गुण्डुमा बस्दै गर्दा स्थानीय राजनीतिक समीकरणको प्रत्यक्ष साक्षी पनि बनेका छन्। यही भौगोलिक र राजनीतिक सन्निकटताले भक्तपुर–१ मा देखिएको सम्भावित कांग्रेस–एमाले समिकरणलाई सामान्य चुनावी सहमतिभन्दा फरक अर्थ दिन्छ।

लोकप्रिय