भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान चिप्लियाे (भिडियाे सहित)
काठमाडौं पुस, १८ । झापाको भद्रपुर विमानस्थलमा शुक्रबार दिउँसो बुद्ध एयरको एक विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको छ।
घटनाबारे झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले प्रारम्भिक जानकारी दिँदै भने, “विमान अवतरणपछि ग्राउन्डभन्दा केही बाहिर पुगेको छ। अहिले घटनाबारे विस्तृत विवरण संकलन भइरहेको छ।”
कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी बिनोद घिमिरेले विमान अवतरणका क्रममा रन–वेबाट तल चिप्लिएको पुष्टि गरेका छन्। उनका अनुसार, विमान सुरक्षित रूपमा रोकिए पनि निर्धारित रन–वेभन्दा बाहिर पुगेको हो।
काठमाडौं विमानस्थलका प्रवक्ता रुन्जी शेर्पाले काठमाडौं–भद्रपुर उडान नम्बर 901 को बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको जानकारी दिए। उनले भने, “विमान अवतरणपछि रन–वे पार गरेर घाँसे क्षेत्रमा पुगेको हो।”
हाल यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट ओराल्ने प्रक्रिया जारी छ। प्रारम्भिक विवरणअनुसार यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेका छन्। कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ।
यद्यपि, विमान किन चिप्लियो भन्ने कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ। मौसम, रन–वेको अवस्था वा अन्य प्राविधिक कारणले घटना भएको हुन सक्ने अनुमान गरिए पनि आधिकारिक निष्कर्ष आउन बाँकी छ।
यस घटनाले भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएको छ। स्थानीय प्रशासन, प्रहरी तथा विमानस्थल प्राधिकरणले संयुक्त रूपमा घटनाको छानबिन सुरु गरेका छन्।


प्रतिकृया दिनुहोस्