नेफ्स्कून सुर्खेत घटना: आन्दोलित कर्मचारीकाे माग पूरा नभए देशव्यापी सेवा बन्द गर्ने

नेफ्स्कून सुर्खेत घटना: आन्दोलित कर्मचारीकाे माग पूरा नभए देशव्यापी सेवा बन्द गर्ने

नेफ्स्कून सुर्खेत घटना: आन्दोलित कर्मचारीकाे माग पूरा नभए देशव्यापी सेवा बन्द गर्ने

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को सुर्खेत सदस्य सेवा कार्यालयमा २०८२ साल पौष १८ गते शुक्रबार भएको घटनाप्रति संघ व्यवस्थापन तथा कर्मचारीहरूको गम्भीर ध्यानाकर्षण भएको छ।

संघका सञ्चालक समिति सदस्य विर बहादुर रावत (भोटे) ले सुर्खेत सेवा कार्यालयमा कार्यरत कर्मचारी मदन कुमार चन्द र पुष्पराज तिमिल्सेना माथि कार्यस्थलमै दुर्व्यवहार तथा कुटपिट गरेको घटनाले संघमा कार्यरत सम्पूर्ण कर्मचारी असुरक्षित भएको नेफ्स्कून कर्मचारी पक्षको ठहर छ।

छ बुँदे माग प्रस्तुत

उक्त घटनाको विरोध गर्दै नेफ्स्कूनमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले संघ व्यवस्थापनसमक्ष छ बुँदे माग प्रस्तुत गरेका छन्।

मागमा घटनाको विधिसम्मत छिनोफानो नभएसम्म सञ्चालक विर बहादुर रावतलाई तत्काल निलम्बन गरी बर्खास्त गर्नुपर्ने, पीडित कर्मचारी सहित सम्पूर्ण कर्मचारीको जिउ धनको सुरक्षा सुनिश्चित गर्नुपर्ने उल्लेख छ।

त्यसैगरी, संघमा कार्यरत कर्मचारीहरूले निर्वाध रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न समिति तथा उपसमितिका कार्यकारी भूमिकालाई पूर्ण रूपमा हटाउन, विनियम तथा कार्यविधिमा उल्लेख बाहेकका प्रशासनिक हस्तक्षेप बन्द गर्न माग गरेका छन्।

संघका सम्पूर्ण कार्यालयमा रहेका उपसमितिका कार्यकक्ष तत्काल हटाउनुपर्ने मागसमेत अघि सारिएको छ।

कर्मचारीहरूको भनाइमा नेतृत्व तहबाट भएको अमर्यादित व्यवहारले संघको छविमा गम्भीर नकारात्मक असर परेको छ।

त्यसैले समिति वा उपसमितिमा रहेका कुनै व्यक्ति वा उनी संलग्न सहकारी संस्था कालोसूचीमा परेको, कारबाहीमा परेको वा कानुनी विवादमा रहेको प्रमाणित भएमा कानुन बमोजिम तत्काल निलम्बन तथा बर्खास्त गर्न माग गरेका छन।

सुर्खेत घटनाले कर्मचारीहरूको मनोबलमा गम्भीर असर परेको उल्लेख गर्दै मागहरू सम्बोधन नभएसम्म संघका सबै कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा पूर्ण रूपमा बन्द गरिने चेतावनी पनि दिइएको छ।

साथै माग पूरा नभए चरणबद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जनाएको छ।

उक्त आन्दोलनका कारण सेवा प्रवाहमा अवरोध भई सदस्य संघसंस्थालाई पर्न सक्ने असुविधाप्रति व्यवस्थापन पक्ष क्षमाप्रार्थी रहेको कर्मचारीहरूले विज्ञप्तिमार्फत जनाएका छन्।

नेफ्स्कून सुर्खेत घटना: आन्दोलित कर्मचारीकाे माग पूरा नभए देशव्यापी सेवा बन्द गर्ने

लोकप्रिय