हामी पहिलो पार्टी हुने उद्देश्यका साथ चुनावी मैदानमा छौ
धनेश्वर पण्डित
प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार, प्यूठान
जनताको सेवा गर्छु भन्ने परम उद्देश्य राखेर राजनीतिमा लाग्नु भएका धनेश्वर पण्डितलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यस पटक प्रतिनिधिसभा सदस्य पदमा प्यूठान जिल्लामा उम्मेदवार बनाएको छ । उहाँ राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) को प्युठान जिल्ला कार्यसमितिको अध्यक्ष हुनु भयो । २०६८ साल देखि राप्रपा राजनीतिमा सव्रिmय रहनु भएका धनेश्वर पण्डित अहिले राप्रपा प्यूठान जिल्ला कार्यसमितिको सदस्य हुनुहुन्छ । उहाँले विभिन्न संघ संस्थामा रहेर समाजसेवा समेत गर्दै आउनु भएको छ । उहाँ राप्रपाको स्थानीय निकाय परिचालन विभागको प्युठान जिल्ला संयोजक हुनुहुन्छ । धार्मिक पर्यटकीय स्थल स्वर्गद्वारीलाई विश्व सामु चिनाउने मुख्य उद्देश्य राखेर आफु चुनाव उठेको बताउनु हुन्छ पण्डित । प्रस्तुत छ, राप्रपाका उम्मेदवार धनेश्वर पण्डितसँग गरिएको कुराकानीः
तपाई राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा प्यूठानबाट उम्मेदवार हुनुहुन्छ, कस्तो लागि रहेको छ ?
राप्रपा मुलुकको फरक धार बोकेको पार्टी हो । यस पार्टीको अन्य पार्टी भन्दा बेग्लै सिद्धान्त र विचार छ । यस्तो पार्टीको तर्फबाट प्रतिनिधि सदस्य पदमा प्यूठान जिल्लाबाट उम्मेदवार बन्न पाउँदा म अत्यन्त गौरावाङ्गित, हर्षित र उत्साहित भएको छु । त्यसो त राप्रपा निर्वाचनको वेला मात्र होइन, अरु बेला पनि हिन्दु राज्य र राजसंस्थाको पथमा पृथ्वी पथको पक्षमा संघर्षरत छ । आन्दोलित छ । म यहि एजेण्डालाई सफल पार्न चुनावी मैदानमा उत्रिएको हुँ । विगतमा जे भयो भयो, यस पटक यो राप्रपाले जित्ने क्षेत्रको रुपमा स्थानीय वासिन्दाले मुल्याङ्गन गर्नु भएको छ । मलाई लाग्छ यस क्षेत्रमा मेरो जित पक्का छ । भगवान रुपी मतदाताले मलाई जिताउनु हुनेछ भन्ने मेरो विश्वास छु । म यसै जिल्लालाई सधै केन्द्रमा राखेर राजनीति गर्ने मेरो उद्देश्य समस्त मतदातालाई स्मरण गराउन चाहान्छु । मलाई प्यूठानको माटोको माया छ । मलाई विश्वास र भरोसा छ । यो क्षेत्रमा मलाई स्थानीय जनताले तपाई हाम्रो तर्फबाट यस पटक चुनावमा उठि दिनु प¥यो भनेकोले म उत्साहित भएर चुनावी मैदानमा उत्रिएको हुँ । म राप्रपा भए पनि मेरो लागि समस्त मतदाता समान हुनुहुन्छ । म जितेपछि पनि समस्त सबैलाई समान व्यवहार गरेर अघि बढ्ने छु । सरसर्ती भन्नु पर्दा हिन्दु राज्य र संवैधानिक राजसंस्थाको पक्षमा जनमत अत्याधिक रुपमा बढ्दै गएको छ । त्यसैले मैले यहाँँ जित्ने आधार धेरै छ ।
यस जिल्लामा राप्रपाको संगठन कस्तो छ ?
देशको फरक धारको नेतृत्व गरिरहेको राप्रपामा विशाल संगठन छ । के नगर, के गाउँ, के वडा सबैतिर राप्रपाको मजुवत संगठन छ । हाम्रो संगठन अरु पार्टीको भन्दा बेग्लै र बढी छ । तर राप्रपालाई होच्याउन यस जिल्लामा राप्रपाको संगठन खस्केको भन्ने होलान् । तर राप्रपाको एजेण्डामा, राप्रपा पार्टीमा मत सयौ गुणा बढ्दै गएको छ । जनताले यस पटक धनेश्वरलाई जिताउछौ भनेको अवस्था छ । प्यूठानमा मात्र हैन यस पटक देशै भर राप्रपाको पक्षमा लहर छ । राप्रपा विकासवादी पार्टी हो । अब यो पार्टीलाई देशै भर जिताउने बेला आएकोछ । अहिले हामीलाई नजिताए कहिले जिताउने ? म आम मतदातालाई भन्न चाहान्छु, तपाईहरुको विश्वासको मत यस पटक मलाई चाहियो । राप्रपालाई देशै भर चाहियो । हामी हाम्रो स्पष्ट एजेण्डामा मत मागिरहेका छौं ।
जनताले राप्रपालाई नै किन मत दिने ?
राप्रपा जन्मजात भ्रष्टाचार विरोधी पार्टी हो । देशबाट भ्रष्टाचार निवारण गर्न राप्रपाले जित्नु पर्छ । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक रुपैया घुस खानु भनेको आमाको रगत खानु सरह हो भन्नु भएको छ । यहि आदर्शका कारण हाम्रो मत बढ्दै गएको हो । हामी जित्दैछौ । हामी स्पष्ट रुपमा राजावादी र हिन्दुवादी भएकाले हामीलाई हिन्दुवादी र राजसंस्थावादीले जिताउदै हुनुहुन्छ । यस पटकको निर्वाचनमा भ्रष्टाचार विरोधीले जित्दैछौ । यस पटक विकासवादीले जित्दैछौ । यस पटक हिन्दुवादीले जित्दैछौ । यस पटक राजसंस्थावादीले जित्दैछौ । हाम्रो एजेण्डा स्पष्ट छ, हामी वर्तमान संविधानमा फेरवदन गर्न चाहान्छौ । संवैधानिक राजसंस्था र हिन्दुराज्य पूनस्थापना गर्नु हाम्रो ‘वटम लाइन’ हो । निर्वाचनलाई पनि हाम्रो एजेण्डा स्थापित गर्ने आन्दोलनका रुपमा लिइरहेका छौ । संसदबाटै हिन्दु राज्य र राजसंस्था स्थापित हुन्छ भन्ने हामीले अटल विश्वास लिएका छौं ।
तपाई जितेपछि त्यस प्यूठान जिल्ला के के गर्नु हुन्छ ?
मैले निर्वाचन जिते पछि पुनः घरदैलो गर्छु र आम मतदाताले राखेका समस्या संसदमा गएर जोडदार रुपले उठाउछु । साथै स्वास्थ्य र शिक्षा निशुल्क गर्न पहल गर्छु । स्थानीय युवाहरुलाई स्वरोजगार बनाउन, जिल्लामै रोजगारीको अवसर सृजना गर्न मदत गर्छु । मेरा चुनावी वाचा धेरै छन तर यी कुरामा पहिला ध्यान दिनेछु ।
यस पटकको निर्वाचनमा राप्रपाको कस्तो अवस्था रहला ?
हामी पहिलो, दोस्रो हुने उद्देश्यका साथ चुनावी मैदानमा छौ । हलोप्रति जनताको अगाध आस्था र विश्वास छ । अब हामीले नजिते कहिले जित्ने ? यहि निर्वाचनबाटै हाम्रा एजेण्डा स्थापित हुनेछ ।
राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउला नि ?
अवस्य आउछ, हामी सर्व धर्म समभावमा आधारित हिन्दु राज्य स्थापित गर्न चाहान्छौं । राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउनेमा हामीले विश्वास लिएका छौ । हाम्रो पहिलो भरोसा नै हिन्दु हुन । यो देशमा ९० प्रतिशत भन्दा बढी हिन्दु बसोबास गर्छन्, त्यसैले हामीलाई हिन्दुहरुको साथ, सहयोग र माया चाहिएको छ । मत चाहिएको छ । अझै भनौ राजावादीहरुको विश्वासको मत चाहिएको छ ।
अन्तमा मतदातालाई सन्देश दिनुस नि ?
यो बेग्लै समय र परिस्थितिमा निर्वाचन हुन लागेको हो । तैपनि हामीले यो निर्वाचनलाई प्रयोग गरेर हाम्रो एजेण्डा स्थापित गर्न गइरहेका छौ । त्यसैले म भन्न चाहान्छु, यस पटक विकासवादीलाई रोजिदिनु होला, हिन्दुवादीलाई रोजिदिनु होला, राजसंस्थावादीलाई रोजिदिनु होला । प्यूठान जिल्लामा पनि हाम्रो एजेण्डाको अनुमोदन हुनेछ भन्ने विश्वास लिएको छु । मलाई सबै मतदाताले अमुल्य मतदिएर साथ र सहयोग गरिदिनु होला । राप्रपालाई जिताउनु होला ।


प्रतिकृया दिनुहोस्