साउदी अरबमा भीषण बर्षा सहित एतिहासमै पहिलो पटक हिमपात

साउदी अरबमा भीषण बर्षा सहित एतिहासमै पहिलो पटक हिमपात

रियाद । साउदी अरबका केही ठाउँमा भीषण वर्षा र हिमपात भएको छ । देशको अल जौफ मरुभूमिमा इतिहासमा पहिलो पटक हिमपात भएको हो ।

सुक्खा मौसमका लागि परिचित ठाउँमा हिमपात हुनुलाई अनौठो मानिएको छ । सामान्यतया उक्त क्षेत्रमा भीषण वर्षा र असिना परेपछि यो हिमपात भएको हो। यसलाई यो क्षेत्रको मौसममा ठूलो परिवर्तन मानिएको छ ।

साउदी प्रेस एजेन्सीका अनुसार अल(जौफमा हिमपातको चिसो स्याँठले सुक्खा ठाउँमा पहिले कहिल्यै नदेखेको दृश्य देखिएको छ । यो घटनाले मौसमविद्हरू आश्चर्यमा परेका छन् । साउदी अरबले गत हप्तादेखि असामान्य मौसमको सामना गरिरहेको छ ।

अल जौफका केही भागमा बुधवार भीषण वर्षा र असिनाले क्षति पुर्‍याएको थियो । यसपछि उत्तरी सीमा, रियाद र मक्का क्षेत्रमा पनि पानी परेको थियो । मौसममा आएको यो परिवर्तनका कारण तबुक र अल बहा क्षेत्र पनि प्रभावित भएका छन् ।

यसपछि सोमबार अल जौफको पहाडी क्षेत्रमा हिमपात भएको थियो । यहाँ परेको हिउँको तस्बीरले सामाजिक सञ्जालमा मानिसको ध्यान तानेको छ ।

युएईको मौसम तथा जलवायु विज्ञान केन्द्र (एनसीएम) ले अरब सागरदेखि ओमानसम्म फैलिएको न्यूनचापीय प्रणालीका कारण भीषण असिना परेको जनाएको छ । यसले यस क्षेत्रमा आर्द्रताले भरिएको हावा ल्यायो, जुन सामान्यतया सुक्खा हुन्छ। जसका कारण साउदी अरब र संयुक्त अरब अमीरात (युएई)मा मेघगर्जन, असिना र वर्षा भइरहेको छ ।

साउदी अरबमा हिमपात दुर्लभ हो तर वर्षौँदेखि मौसममा परिवर्तन भइरहेको छ । केही वर्षअघि अरब मरुभूमिमा तापक्रममा नाटकीय गिरावट आएको थियो र यो माइनस २ डिग्री सेल्सियस पुगेको थियो । यसका लागि जलवायु परिवर्तनको व्यापक प्रभावलाई जिम्मेवार मानिन्छ । पश्चिम एसिया जलवायु सम्बन्धी प्रभावहरूको लागि सबैभन्दा कमजोर क्षेत्रमध्ये एक हो । एजेन्सी ।

लोकप्रिय