स्थानीय तहमा निमित्त हाकिम नरहने, एकै पटक २ सय प्रमुख प्रशासकीय अधिकृत पठाउने मन्त्रालयको तयारी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने गरी अन्तिम सूची तयार गरेको छ । हाल २ सय भन्दा बढी स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेकोमा ती सबै ठाउँमा संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी गरेको हो ।
शक्ति, पहुँचको आडमा लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहँदै आएकोमा उनीहरुलाई जिम्मेवारीवाट मुक्त गरी नियमअनुसारका अधिकारप्राप्त प्रमुख प्रशासकीय अधिकृत पठाउने गरी मन्त्रालयले सूची तयार गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आफूँ मन्त्री हुनासाथ निमित्त प्रमुख प्रशासकीय अधिकृत राख्ने प्रथा सदाका लागि अन्त्य गर्ने घोषणा गर्नु भएको थियो । मन्त्री न्यौपानेको सो घोषणा अनुसार मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने रोगलाई सदाका लागि अन्त्य गर्न कसरत गर्नुभएको छ ।
मन्त्री न्यौपानेले ऐन नियम र कानुनको पालना सबै पक्षले गर्नुपर्ने र सोहीअनुसार सबै स्थानीय तहमा निमित्त हटाएर दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत पठाइने गृहकार्य अन्तिम चरणमा पु¥याइएको बताउनुभयो। उहाँले स्थानीय तहमा निमित्तको भरमा प्रशासन सञ्चालन गर्दा ऐन कानुन मिचिनुका साथै विभिन्न खाले विकृति आएको, चेन अफ कमान्ड टुट्ने गरेको, सन्तुलन नमिलेको, काम लगाउने र गर्ने दुवैले हचुवामा काम गर्दा परिणाम आउन नसकी सेवा प्रवाह प्रभावकारी हुन नसकेको निष्कर्षका साथ मन्त्रालयले स्थानीय तहमा निमित्तको रोग उन्मूलन गर्ने गृहकार्य अन्तिम चरणमा पु¥याएको बताउनुभयो ।


प्रतिकृया दिनुहोस्