जेनजी आन्दोलनमा बन्दुक चलाउन आदेश दिने जोसुकैलाई ज्यान मुद्धामा मुद्दा कारबाही गर्नुपर्छ: अभियन्ता पाठक

काठमाडौ । भ्रष्टाचारविरोधी अभियन्ता हेम पाठकले जेनजीले भदौ २३ र २४ मा गरेको शान्तिपूर्ण आन्दोलनमा निहत्था, कापी–कलम बोकेर आएका युवाहरूमाथि गोली चलाउन आदेश दिने जो–सुकैलाई तत्काल ज्यानमुद्दामा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
आइतबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पाठकले बालबालिकाको हत्या र दमनमा संलग्नहरूलाई कारबाही गर्न सरकारले ढिलाइ गरिरहेको आरोप लगाए। उनले भने, “आज होइन, भोलि पनि होइन, पर्सि पनि होइन — तत्काल ज्यानमुद्दामा कारबाही हुनुपर्छ। सरकारले जति ढिलाइ गर्छ, उति नै उसले पाएको सम्मान गुम्दै जान्छ।”
पाठकले दोषीहरूलाई केवल एक जिल्लामा मात्र नभई जहाँ–जहाँका बालबालिका मारिएका छन्, सम्बन्धित सबै जिल्लामा मुद्दा चलाउनुपर्नेमा जोड दिए। उनले थपे, “गोली चलाउन आदेश दिने व्यक्तिहरूलाई एक जिल्लामा मात्र होइन, जुन–जुन जिल्लाका भाइबहिनीहरूलाई मारेका छन्, ती सबै जिल्लामा उनीहरूलाई मुद्दा चलाउनुपर्छ, जसरी उनीहरुले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई जिल्ला–जिल्लामा घुमाए।”
कार्यक्रमको सभापतित्व नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले गरेका थिए।
प्रतिकृया दिनुहोस्