जेनजीको मात्रै नभएर यो आन्दोलन नेपाली जनताको भयो: कुलमान

जेनजीको मात्रै नभएर यो आन्दोलन नेपाली जनताको भयो: कुलमान

 

काठमाडौ । उज्यालो नेपालका नायक कुलमान घिसिङले सरकारको हिंसात्मक दमनको निन्दा गरेका छन् ।
सोमबार (हिजो) भएको जेनजीको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा १९ जना युवाहरूले ज्यान गुमाएका छन् भने झण्डै ४ सय जना घाइते भएका छन् । घिसिङले युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा भएको दमनको निन्दा गरेका हुन् ।
उनले यस्तो दुःखद घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताए, साथै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे।
सामाजिक सञ्जालमा प्रकाशित पोस्टमा नेपालमा दैनिक १८ घटना सम्म चलेको लोडसेडिङ हटाउन निर्णायक भूमिका निर्वाह गरेका घिसिङले सबै नागरिकको अभिव्यक्तिको अधिकारलाई संरक्षण गर्नु पर्ने बताए।
‘सोमबारको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने दिन हो। देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द लगायतका विषयलाई लिएर जेनजी पुस्ताले सोमबार देशभर स्वतःस्फूर्त गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा एवम् भर्त्सना गर्दछु’ घिसिङले भने, ‘यो आक्रोश युवाहरूको सपना हो, नयाँ नेपालको सपना, पारदर्शी शासनको सपना र स्वतन्त्र सोचको सपना। देशभित्रै सुन्दर भविष्य, समृद्धि र जबाफदेहिताको चाहना राख्ने युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा भएको निर्मम दमनको कारणले देशले होनहार युवा गुमाउनु पर्दाको पीडाले मर्माहत भएको छु।’

उनले ज्यान गुमाउने सम्पूर्ण युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । जेनजी पुस्ताले उठाएका मागलाई तत्काल सम्बोधन गर्न जोडदार माग गर्दै उनले यस दुखद घट्नाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

लोकप्रिय