टुँडिखेलमा अमेरिकी सैनिकको परेडले तरङ्गित बन्यो नेपाली समाज
काठमाडौं । आइतबार अमेरिकी सेनाले राजधानी काठमाडौंको टुँडिखेलमा परेड खेलेको भनी सामाजिक सञ्जालमा भिडियो क्लिप भाइरल भएसँगै नेपाली समाज तरङ्गित बनेको छ ।
सेना दिवस तथा महाशिवरात्रिका बेला सार्वजनिक यो भिडियोबारे सर्वत्र चासो र बहसको भएको छ । पछिल्लो समय नेपालमाथि विदेशी हस्तक्षेप भएको विभिन्न राजनीतिक विश्लेषकहरुले बताइरहेका बेला अमेरिकी सेनाको परेड देखिनुलाई नेपाली जनताले गम्भीर रुपमा लिएको छ ।
खासगरी गत भाद्र २३ र २४ गते जेनजी आन्दोलनमा समेत विदेशी हस्तक्षेप भएको अनुमान नेपाली जनताले गरेका छन् । २३ गते जेनजी समूहले गरेको शान्तिपूर्ण आन्दोलनमा अप्रिय घटना घटेको थियो । फलस्वरुप २४ गते आन्दोलनले हिसांत्मक रुप लिन गयो ।
मुलुकको सबैभन्दा पूरानो र ठुलो प्रशासनिक निकाय सिंहदरबार, सर्बोच्च अदालत, सडक विभाग, जिल्ला अदालतलगायत सयौं प्रहरी कार्यालयहरु र नेताहरुको घर समेत जलाइयो । देशभरका कैदीबन्दी छुटे भने प्रहरीको हतियार लुटियो । यो घटनाले मुलुक र मुलुकबासीलाई निकै नै आतंकित बनाएको छ ।
सो घटनापछि नेपाली जनतामा एक प्रकारको डर र संन्त्रासमा बाँचिरहेका छन् । जेनजी आन्दोलनकै क्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएसँगै भाद्र २७ गते पूर्व प्रधानन्यायाधिश सुशिला कार्की नेतृत्वमा सरकार गठन भयो ।
कार्की नेतृत्वको सरकारले यही फागुन २१ गते निर्वाचन गर्ने मिति घोषणा गरेको छ भने मुलुक चुनावमय बनेको छ । देशभर उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । निर्वाचन शान्तिपूर्ण हुनेमा आशंका ज्यूँका त्यूँ रहेको छ ।
निर्वाचनको संघारमा अमेरिकी सेनाले टुडिखेलमा परेड देखाउनुलाई नेपाली जनताले शंकाको रुपमा लिएको छ । सरकार र सेनाको नियत र नियतिमाथि व्यापक प्रश्न खडा भएको छ । यसबीच, नेपाली सेनाले भने यो नियमित तथा पारस्परिक सम्बन्ध बुझाउने अभ्यासमात्रै भएको भनी भ्रममा नपर्न आग्रह गरेको छ ।
‘नेपालमा सेना दिवसका बेला नियमित रूपमा आयोजना गरिने समारोहमा अरु देशका सेनाको ब्यान्ड टिमले मैत्री सहभागिता जनाउने गरेको छ, हामी पनि अरु देशमा सैनिक टुकडी लिएर जाने गर्छौँ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताउँदै उनले भने, ‘अस्ति भर्खरै भारतको सेना दिवसमा नेपाली ब्यान्ड पनि यसैगरी गएको थियो । त्यसको उद्घोष नेपाली भाषामै भएको थियो । आर्मी टु आर्मी अपरेसनअन्तर्गत विभिन्न कार्यक्रममा भाग लिने, संयुक्त अभ्यास गर्नेलगायतका काम नियमित प्रक्रिया मानिँदै आएको छ ।’
यसबारे जंगी अड्डाले विज्ञप्तिमा पनि खुलाएर लेखेको उनले बताए । ‘यसबाहेक युवा आदान प्रदान कार्यक्रममा पनि हामी सहभागी हुन्छौँ,’ उनले भने ।
नेपाल र अमेरिकाबीच सन् १९४७ यता सैन्य सम्बन्ध रहँदैआएको छ । यसअघि गणतन्त्रकालमै पनि विभिन्न सरकारका पालामा यस्ता सैन्य ब्यान्डका नियमित प्रस्तुति हुँदै आएका छन् । नेपाली सेनाका धेरै अधिकृतहरूले अमेरिकास्थित स्टाफ कलेजहरू गएर अध्ययन गर्ने, सिक्ने गर्दैआएका छन् । अमेरिकीहरू पनि कार्यक्रम विशेषमा नेपाल आउने गरेका छन् ।
नेपालले भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तानलगायत विभिन्न देशका सेनासँग मिलेर नेपाल तथा अन्य देशमा संयुक्त सैन्य अभ्याससमेत गर्ने गरेको छ । सेनाले यी सबै कार्यक्रम विगतमाझैँ नियमित सञ्चालन हुने जानकारी दिएको छ ।
नेपालमा आम चुनाव आउन दुई साताभन्दा केही दिनमात्रै बढी समय बाँकी रहँदा अमेरिकी सेनाको प्रस्तुति दलीय वादविवादको विषय बन्नपुगेको छ । एउटा पक्षले जेनजी आन्दोलनमा पश्चिमी शक्तिराष्ट्रको हात भएको दाबी गर्दै यो सैन्य प्रस्तुति पनि त्यसैको निरन्तरता भएको दाबी गरेको छ । सरकार र सेना निकटहरूले भने यो विगतकै अभ्यासको निरन्तरतामात्रै भएकाले भ्रामक खबर नफैलाउन आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्