थाङपाल गाउँपालिका र बनेपा नगरपालिका बीच भगिनी सम्बन्ध

थाङपाल गाउँपालिका र बनेपा नगरपालिका बीच भगिनी सम्बन्ध

 

काठमाडौ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका र काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पाँचपोखरी थाङपाल गाउँपालिकालाई समृद्ध बनाउनका लागी यहाँको भ्रमण र यो सम्बन्ध उपलब्धी मुलक रहेको बताए । काठमाडौंसंग जोडिएको जिल्ला र क्षेत्र भएर पनि पछि परेको हिमाली जिल्ला पाँचपोखरीलाई विकसित र समृद्ध बनाउनका लागी गरेको कार्यको अध्यक्ष लामाले बताए । उनले यो ऐतिहासिक निर्णय गाउँपालिकाको इतिहासमा लेखिने बताए । उनले आगामी दिनमा यस्तो खालको साझेदारी गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले पाँचपोखरिको विकासको लागी सहयोग गर्न सधैं तयार रहेको उद्घोष गरे । त्यहाँको पर्यटनको विकासका लागी, अर्गानिक आलु तथा तरकारीको लागी बजार ब्यबस्थापन र पर्यटन प्रबद्र्वनका लागी सधैं सहयोग गर्ने शाक्यले प्रतिबद्धता जनाए । पाँचपोखरीमा आँखा अस्पताल खोल्ने कुरामा आफु सकारात्मक रहेको उनको भनाइ थियो । बनेपामा देखाउन पर्ने धेरैकुराहरु देखाउन नपाएको भन्दै उहाँले दुईवटै पालिकाको हितका लागि सम्बन्ध स्थापना गरेको प्रष्ट पारेका थिए ।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंलेले स्वागत मन्तव्य राख्दै बनेपा नगरपालिकामा भइरहेका मुख्य मुख्य कामका बारेमा जानकारी गराए । पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले यो मैत्रीपुर्ण भ्रमणले धेरैकुराको सिकाइ भएको बताइन् । बनेपा नगरपालिकाले गरेको स्वागतको लागी धन्यवाद व्यक्त गर्दै उनले यहाँ राम्रो लागेका अनुशरण गर्नुपर्ने कुराहरूलाई कार्यपालिकाको बैठक बसि अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।
बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटाले सिक्न योग्य र यहाँ परिक्षणको क्रममा रहेका,सुरुवात गरेका योजनाहरुको भ्रमण गराएको बताइन् । उनले एक आपसमा मनन योग्य कुराहरुको बारेमा, सहकार्य गर्ने कुराहरुमा निरन्तर रहिरहने बताइन् । पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का वडा अध्यक्ष नारायण भट्टराईले यो भ्रमणले आर्थिक,पर्यटन,जनजिविकाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउछ भन्ने बिश्वास लिएको बताए ।
गाउँपालिकाले पर्यटनको क्षेत्रमा लगानी गरिरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले थप सहयोग पुग्ने बताए । प्रवक्ता भट्टराईले बनेपामा रहेको आँखा अस्पतालको शाखालाई पाँचपोखरी सम्म लैजाने कुरामा छलफल हुनुपर्ने र गाउँपालिकाले हर्नुपर्ने ब्यबस्थापनका गर्न तयार रहेको स्पष्ट पारे ।
बनेपा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष रामबहादुर कुँँवरले पाँचपोखरी थाङपाल गाउँपालिकाले गरेका असल अभ्यासलाई बनेपाले पनि लागु गर्नेगरी छलफल भइरहेको बताए । उनले विशेषगरि पाँचपोखरीले शिक्षा क्षेत्रमा गरेका कार्यलाई अनुशरण गर्नुपर्ने बताए ।
दुई पालिकाका जनताहरूबीच आपसी सहयोग तथा गहिरो भातृत्ववत सम्बन्ध र समझदारीलाई प्रवर्धन एवं सम्बर्धन गर्ने उद्देश्यले, परापूर्वकाल देखि दुई पालिकाका जनताहरूबीच स्थापित सम्बन्धहरूको सगौरव स्मरण गर्दै त्यस्तो सम्बन्धलाई औपचारिकता प्रदान गरी अझ प्रगाढ बनाउँदै लैजाने उद्देश्य प्राप्ति गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
सम्झौतामा दुई पालिकाबिचको सम्बन्ध आपसी हितका सिद्धान्त अनुरूप दुई पालिकाका जनताहरूबीच आर्थिक, व्यपारिक,साँस्कृतिक, प्राविधिक, पर्यावरणा संरक्षण, प्राकृतिक श्रोतको उपयोग र पर्यटन प्रवर्धनको क्षेत्रमा संयुक्त रूपमा मैत्रीपूर्ण आदान प्रदान र सहयोग गर्न स्वीकार गर्दछौं भनिएको छ ।
सम्झौताको भावनालाई कार्यान्वयन गर्न आगामी दिनमा दुई पालिकाबीच विषयगत क्षेत्रका विशेष सम्झौता मार्फत अगाडी बढाउने,यस सम्झौता कार्यान्वयनका क्रममा कुनै द्विविधा उपस्थित भएको अवस्थामा दुई पालिकाहरूको आपसी सहमतिमा त्यस्तो द्विविधा अन्त्य गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

 

लोकप्रिय