म्याग्दीमा ‘कृषक पाठशाला’ शुरु

म्याग्दीमा ‘कृषक पाठशाला’ शुरु

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका– ६ डम्मराका किसानले खेतीबालीमा लाग्ने रोग कीराको उपचारमा रैथाने सीप र प्रविधिलाई प्रयोगमा ल्याउन थालेका छन् ।

बेनी नगरपालिकाले सञ्चालन गरेको एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा व्यावहारिक ज्ञान, सीपको क्षमता विकास गरेर किसानहरूले खेतीबालीमा लाग्ने रोग कीराको उपचारमा स्थानीय वानस्पतिक विषादी बनाएर प्रयोगमा ल्याएका हुन् । पाठशाला सञ्चालनका लागि करिब एक रोपनी क्षेत्रफलमा गरिएको कोसेबालीमा देखिएका रोग कीराको समस्या समाधान गर्न प्याजको पात, केतुकी, पाती, असुरोलगायत तीतो, पिरो, टर्रो र अमिलो हुने प्रजातिका वनस्पति र बस्तुभाउको मूत्रबाट जैविक विषादी बनाएर प्रयोग गरिएको स्थानीय झरना थापाले बताइन् ।

वानस्पतिक विषादीको प्रयोगले कृषि उपजसमेत स्वस्थकर हुने गर्छ । डम्मरा माझखेत कृषक समूहका २२ जना महिला किसान सहभागी पाठशालामा खेतीबालीको बीउ लगाउनेदेखि फल उत्पादनसम्मको व्यावहारिक ज्ञान, सीप र क्षमता विकासका गतिविधि भइरहेका छन् ।

गत माघ २० गतेदेखि सञ्चालन भएको कृषक पाठशालामा सहजकर्ता सोबित शर्माले किसानहरूलाई सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरेका छन् । पाठशाला सञ्चालन भएपछि गाउँघरमा रहेका स्रोत र साधनलाई प्रयोग गरेर कृषिको उत्पादन बढाउने र रोग कीराको पहिचान गरेर उपचार गर्ने ज्ञान सीप हासिल भएको तालिममा स्थानीय किसान सहभागी भएका छन् ।

लोकप्रिय