त्यो नरुने बाचा किन तोड्यौ साथी !

त्यो नरुने बाचा किन तोड्यौ साथी !

मध्यरात अर्थात विहानको २ मात्र बजेको रहेछ । हिजो बेलुकी भक्तपुरबाट मलाई विदाई गर्न आएकी दिदी बाहिरबाट भन्दै थिइन्, ‘ढिला हुन्छ उठ उठ ।’ ढोकामा एकनासको ढक् ढक् आवाज र दिदीको चिच्चाहट सुनेपछि निद्रा खुल्यो । साथीहरु कोही भुइँमा लडेका कोही पल्लो खाटमा मस्तले घुरिरहेका । एकछिन् म अलमलिएँ । सँधै आखा खुल्नासाथ पल्लो खाटमा आमाबुवालाई देख्ने मैले आज देखिनँ । अचानक मेरो मन भारी भयो । मलाई सम्झना भयो, आज त म जानु छ । उठेर ढोकाको चुकुल खोलेँ । दिदीलाई भनेँ, ‘म निस्किहालेँ, तिमीपनि तयारी गर ।’

दिदी माथितिर लागिन् । गहिरो निन्द्रा र त्यति मिठो सपनामा रमिरहेको मेरो मन त्यही सपनामतिरै फर्कियो । आफूँले अघि देखेको सपना सम्झिएर मक्ख परेँ । आफूँ सुतेकै खाटमा ठ्याच्च बसेर सपनाका कुरा कल्पना गर्न थालेँ । यत्तिकैमा सपनामा आएका मेरी प्रिय मित्र पल्लो खाटमा मस्त निन्द्रामै थिए । उनलाई देखेपछि फुरुङ्ग भएँ, खुसीले गदगद् भएँ तर केही समयमै छुुट्नुपर्ने थियो । त्यो कुरा सम्झिएपछि भने मलाई क्षणभरमै दुःखी बनायो । विहान ७ बजेको फलाइट छ । विमानस्थलमा ३ बजे नै छिर्नुपर्ने । हतार हतार सबैलाई उठाएर तयार हुन आग्रह गरेँ । कोही ट्वाइलेट तर्फ लागे, कोही कपडा लगाउन । २ः ३० बजेट होटलबाट निस्किएर नजिकै रहेको ट्याक्सी बोलाएर सामान लोड गरेर एयरपोर्ट लाग्यौँ ।

आहा ! अघि देखेको त्यो सपना

सपना त सपना हो । सपनामा देखेका कुरा कति पूरा हुन्छन्, कति पूरा हुँदैनन् । कहिले डरलाग्दो सपना देखिने, कहिले भरलाग्दा र मिठा । अन्तिम रातको सपना अत्यन्त मिठा थिए । भरलाग्दा र स्मरणयोग्य मात्र होइन कहिल्यै कल्पना नै नगरेको । ट्याक्सी नयाँ बसपार्कबाट एयरपोर्टतर्फ अगाडि बढ्न थाल्यो । मध्यरात भएर होला मेरा साथी र दिदी निदाउन थाल्नुभयो । मसँग बोल्ने मान्छे पनि कोही नभएपछि भर्खरै देखेका सपना मेरो मस्तिष्कमा खेल्न थालेछ । हुनत मेरो सपनाको नायक र म बच्चैदेखिको मिल्ने र असल साथी थियौँ । उनै साथीसँग सपनीमा धेरै रमाएँ अर्थात त्यो रात सपनीमा भएपनि रंगिन बन्यो । सपनीमै भएपनि अधिक खुसी बनिरहेँ । त्यही खुसीमा म डुब्न थालेछु । सपनीमा हामीले एउटा ‘ग्रिन टी’ पसल खोलेका रहेछौँ । पसल अत्याधिक चल्न थालेछ । दैनिक १० हजारभन्दा बढी व्यापार भईरहेको । अर्को विजनेश पनि गर्ने प्लान बनायौँ । एउटा टुरिष्ट बस काठमाडौ–चितवन चल्न थाल्यो । आम्दानी बढ्दै गयो फेरी हामीले गाउँमा सुन्तला खेतीको लागि प्लानिङ्ग ग¥यौँ बाँदर आतंक भएकाले नगर्ने कि भन्ने पनि भयो । सपनीमै हामी दुवै जना विदेश नजाने नेपालमै बसेर लाखौँ लाख कमाउने, अरुलाई रोजगार दिने, दुवैले घरजम गर्ने । मनमनै रमाइलो भइरहेको थियो । एक्कासी ट्याक्सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट भित्र प्रवेश गरेपछि गुरुले एयरपोर्ट आइपुग्यो भनेसँगै म झसङ्ग बने ।

त्यो बाचा किन तोड्यो साथी….?

हामी सानैदेखिको एकदमै मिल्ने साथी । म विदेश जाने भएपछि गाउँबाट काठमाडौसम्म भएपनि मलाई पु¥याउन मसँगै बसमा चढे । ३ दिन पछिको फ्लाइट थियो । काठमाडौमा विताउने ३ दिनलाई रमाइलो र स्मरणीय बनाउने हाम्रो योजना थियो । दिदीले आफ्नै कोठामा बोलाउँदा समेत अस्वीकार ग¥यौँ । मन लागेको खाने, मन लागेको ठाउँमा जाने योजना थियो । त्यसो गर्न नपाइला कि भनेर दिदीको कोठामा गएनौँ । हुनपनि त्यो तीन दिन गेष्ट हाउसमै बसेर रमाइलो गरि वितायौं । अरु सबै काम सकिएकै थियो । टिकटको पैसा तिर्न बाँकी त्यो पनि झट्टै भइहाल्यो । त्यसपछि त काठमाडौ शहर घुम्ने, नयाँ नयाँ खानेकुरा टेष्ट गर्ने, काठमाडौमा बस्ने केही आफन्त भेटघाट र सपिङ्ग गर्यौ । तीन दिन वितेछ, आफूँलाई त तीन घण्टा वितेको जस्तो मात्र अनुभूति भइरहेको थियो ।

गाउँमा हुँदा सँगै भएपनि आ आफ्नै काममा व्यस्त । लामो समय कहिल्यै गफिने मौका नपाउने । यसपटक भने बाटोमा हिँड्दा, बसमा यात्रा गर्दा कोठामा बस्दा जे गर्दा पनि सँगसँगै । कति धेरै तिता मिठा कुरा ग¥यौँ । कहिले गाउँ घरको कुरा, कहिले साथीभाई कुरा, कहिले छिमेकीको कुरा त कहिले भविष्यको कुरा अनि हामी छुट्टिने कुरा पनि । हामी छुट्टिने समय आइसकेको थियो । यति धेरै कुराहरु भए कि मैले धेरै कुरा विर्सिसकेको थिएँ । तर, एउटा कुरा भने मेरो मस्तिष्कमा खेलिरहेको थियो । हामीमाझ एयरपोर्टमा पुगेपछि कोही पनि नरुने बाचा थियो । सबै हाँसीखुसी भएर छुट्टिने भन्ने अघिल्लो दिन सल्लाह भएको थियो । तर, त्यो बाचा मेरो साथीले पूरा गर्न सकेन । मैले विदाईको हात हल्लाउँदै गर्दा डाँको छाडेर रुन थाले । हामीसँगै गएका दिदी भिनाजुले नरुन आग्रह गर्दा उनी सम्हालिने कोसिस गर्थे तर, कसरी रोकिन्थे विछोडको पिडा पखालिँदै झरिरहेको आसुँ । उनको आँखाबाट टप्प टप्प आसुँ खसिरह्यो । तर म भने जानैपर्ने थियो । उनको आँखामा आँसु देख्दा मलाई पनि ग्वाँग्वा रुन मन थियो तर, आफ्नो मनलाई बलियो बनाएर म गेटतर्फ लम्किरहेँ ।

कहिलेसम्म विदेशिने हो हामी ?

देश छाडेर अनिश्चित यात्रा गर्दै गर्दा मेरो मनमा अनेकन कुराहरु खेल्न थाले । जब त्रिभुवन विमानस्थलबाट भित्र छिरेँ मेरो बा–आमा, परिवार, साथीभाई, छरछिमेक देखि देशकै अभाव खड्किन थाल्यो । मन भतभती पोल्न थाल्यो । साथीको त्यो आसुँ धारा बगेको देख्दा यहीबाटै फर्किउँ कि जस्तो पनि लाग्यो । तर सम्भव थिएन । मन गह्रौ पार्दै अगाडि बढेँ । यो मेरो मात्र समस्या होइन । दैनिक ५/६ हजार नेपाली युवायुवती मेरो जस्तै पीडा बाकेरे विदेश जान्छन् । मलाई लाग्यो देश छाड्दै गर्दा सबैलाई यस्तै पीडा हुन्छ होला भनेर ।

पछिल्लो समय युवा पलायन अत्याधिक बढिरहेको छ । कोही कामको खोजीमा त कोही पढ्ने बहानामा विदेश भासिन्छन् । नेपालमा केही छैन, केही हुँदैन भन्ने सबैको मनमा परेको छ । हुनपनि त्यस्तै छ नेपालमा । ‘जसको हात, उसै जगन्नाथ’ भने झैँ छ यहाँ । शासक, प्रशासकहरुले आफूँले पाएको जिम्मेवारी बहन गर्दैनन् । बरु आफूँले पाएको अख्तियारी दुरुपयोग गरेर कमाउन कस्सिन्छन् । देश समृद्ध बनाउँछु भन्ने नेता, कर्मचारीहरुले आफूँलाई मात्र समृद्ध बन्ने ध्याउन्नामा छन् । आफ्ना छोराछोरी र नातागोतालाई समृद्ध बनाएका छन् । थुप्रै शासक÷प्रशासकहरुले त देश लुटेर परदेशमा घर बनाइरहेका छन् रे । तिनले आफ्ना छोराछोरीलाई विदेशमा नै पढाउँछन् रे । विदेशी बैँकमा पैसाको थुप्रो बनाएका छन् रे । देश र जनता त भन्ने कुरा मात्र हो । तर, हामीले आशा मारिहाल्नु पनि त भएन । एकमनले सोँच्छ हामी विदेश गएपछि कमाई भइहाल्छ नि ! सँधै त्यो सोँच राख्नुपनि ठीक होइन ।

आर्थिक उपार्जनका लागि नेपालमा अथाह सम्भावना छ । त्यसका लागि नेतृत्वमा पुगेकाहरुले उपर्युक्त वातावरणको सिर्जना गर्न सकेका छैनन् । गाउँ ठाउँमा उत्पादन गर्न सकिने बस्तुहरुको बजार प्रवद्र्धन हुन सकेको छैन । मुलुकमा अबौँ रकम बराबरको विदेशी रक्सी भित्रिरहँदा स्वदेशमै उत्पादन हुने कोदोको रक्सीलाई विस्थापित गरिएको छ । स्थानीय तहहरुले कोदोको रक्सीलाई ब्राण्डिङ्ग गर्ने भनिरहेको छ तर कहिले गर्ने हो अत्तोपत्तो छैन । शिक्षा पनि त्यस्तै छ । डिग्री पास गर्नेहरु पनि बेकामे भएर हिँडिरहन्छन् । परिवारले हातमुख जोड्नैका लागि पनि विदेश नगएर के गर्ने त ?

मेरो सन्देश

मेरै ठुल्दिदीले गाउँमै बंगुर पालन गरेर गाउँमा सबैभन्दा ठुलो घर बनाएकी छिन् । काठमाडौ आउनु अघि दिदीलाई सोधेको थिएँ कमाई के कति भईरहेको छ भनेर ? बजारमा बंगुरको बच्चाको माग पनि बढेको छ, मासुको भाऊ पनि बढेको छ । अहिले त मासिक एक/डेढ लाख कमाई रहेको छु । दिदीको यो कुरा सुनेपछि गाउँमा केही ग¥यो भने पनि त हुने रहेछ भन्ने मनमा परेको छ ।
तरपनि नेपालमा यावत् समस्या छन् । हामीले उत्पादन गर्ने उत्पादनले बजार पाउन सक्दैन । माछामासु, फलफूल, दुध, तरकारी, लत्ताकपडा उत्पादन हुन्छ विक्रि हुँदैन । जसको कारण उद्योगपति, कृषक, व्यापारी सबै क्षेत्र तहसनहस बन्न पुगेको छ । श्रमिकले पारिश्रमिक पाउन सकेका छैनन् । यी समस्याहरु तत्काल समाधान हुनु जरुरी छ । सबैभन्दा पहिला मुलुकमा सञ्चालन भएको तिनै तहका सरकारहरुले स्वदेशी उत्पादनलाई संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन र बजारीकरण गर्नुपर्दछ । कृषकलाई उत्पादनको आधारमा अनुदान दिनुर्पछ । पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्छ । राज्यले गास, बास, कपास, स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गर्नुपर्दछ । यति हुन सके केही मात्रामा भएपनि विदेश पलायन रोकिने आशा गर्न सकिन्छ ।

लोकप्रिय