रूस र युक्रेनबीच युद्धमा ट्रम्पको यस्तो टिप्पणी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीचको युद्ध आफ्नो नभएर बाइडेनको युद्ध भएको टिप्पणी गरेका छन् ।
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युक्रेन बारे निर्णय लिनु अघि एक पटक युक्रेनको भ्रमण गर्न निमन्त्रणा गरेपछि राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । हालै रुसको युक्रेनको सुमी शहरमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा ३४ जनाको मृत्यु भएको थियो । यसबारे जेलेन्स्कीले ट्रम्पलाई कुनै पनि निर्णयमा पुग्नु अघि र कुनै पनि प्रकारको वार्ता गर्नु अघि युक्रेन आउनु पर्छ र आम जनता, सैनिक, अस्पताल र चर्चहरूको विनाश हेर्नु पर्ने बताएका थिए ।
यसबारे ट्रम्पले यो युद्धसँग आफ्नो कुनै सरोकार नभएको, तर मृत्यु र विनाश रोक्न लगनशीलताका साथ काम गरिरहेको जवाफ फर्काएका थिए । साथै उनले २०२० को राष्ट्रपति चुनावमा धाँधली नभएको भए, यो भयानक युद्ध कहिल्यै नहुने दाबि समेत गरेका थिए ।
साथै उनले यस लडाईका लागि राष्ट्रपति जेलेन्स्की र बाइडेन जिम्मेवार भएको समेत आरोप लगाए । उनले यो सुरु हुनुभन्दा पहिले यसलाई रोक्ने धेरै तरिकाहरू थिए । तर अब यी सबै विगतको कुरा भइसकेका छन्। अब यसलाई सकेसम्म चाँडो रोक्नु पर्ने उनले बताएका छन् ।
यसअघि ट्रम्पले युक्रेनी शहर सुमीमा भएको रुसी आक्रमणलाई कम आँकलन गर्दै यो गल्ती भएको बताएका थिए ।


प्रतिकृया दिनुहोस्