रोबर्ट फ्रान्सिस प्रिभोस्ट बने नयाँ पोप
काठमाडौं । भ्याटिकनमा आयोजित पोप कन्क्लेभको दोस्रो दिन बिहीबार राति नयाँ पोपको चयन गरिएको छ ।
६९ वर्षीय रोबर्ट फ्रान्सिस प्रिभोस्ट नयाँ पोप निर्वाचित भएका छन् । उनी अमेरिकाबाट पोप बन्ने पहिलो कार्डिनल बनेका छन् । उनले आफ्नो लागि पोप लियो–१४ नाम रोजेका छन् । उनी १३३ कार्डिनलहरूको दुई तिहाइ बहुमत (८९ मत) बाट पोप निर्वाचित भएका हुन् । सन् १९ सयपछि दुई दिनमा नयाँ पोपको निर्वाचन भएको यो पाँचौं पटक हो ।
मतदानको दोस्रो दिन रोमन क्याथोलिक चर्चको सिस्टिन चैपलको चिम्नीबाट सेतो धुवाँ निस्किएसँगै, जसले नयाँ पोप चयन भएको संकेत गरेको थियो । नयाँ पोप चयन हुने बित्तिकै भ्याटिकनमा उपस्थित ४५ हजारभन्दा बढी मानिसहरूले ठूलो स्वरमा ताली बजाएर एकअर्कालाई बधाई दिएका थिए । यसअघि, मे ७ मा भएको पहिलो चरणको मतदानमा पोप निर्वाचित हुन असफल भएका थिए ।
पोप निर्वाचित भएपछि, पोप लियो–१४ ले सेन्ट पिटर बासिलिकाको बाल्कोनीबाट स्पेनी भाषामा सम्बोधन गरेका थिए । उनले मानिसहरूलाई अरूप्रति दया देखाउन र प्रेमका साथ बाँच्न अपील गरे । पोप लियोको जन्म सेप्टेम्बर १४, १९५५ मा अमेरिकाको इलिनोइसमा भएको थियो । उनलाई पोप फ्रान्सिसको नजिकको सहयोगी मानिन्थ्यो र उनको विचारधारा पनि पोप फ्रान्सिससँग मेल खाने बताइएको छ ।


प्रतिकृया दिनुहोस्