रुस-युक्रेनबीचको युद्ध रोक्न ट्रम्पको प्रयास

रुस-युक्रेनबीचको युद्ध रोक्न ट्रम्पको प्रयास

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका छन् ।

रुस र युक्रेन युद्धको विषयमा ट्रम्प र पुटिनबीच करिब २ घण्टा छलफल भएको थियो । पुटिनले वार्तालाप धेरै राम्रो भएको बताएका छन् । उनले सही सम्झौता भएमा, रूस र युक्रेन बीच केही समयको लागि युद्धविराम सम्भव रहेको बताएका छन् ।

रुसी समाचार एजेन्सी तासका अनुसार पुटिनले युक्रेनसँग शान्ति सम्झौताको मस्यौदा तयार रहेको बताए । उनले द्वन्द्वको वास्तविक कारण हटाउनु पर्नेमा जोड दिएका छन् ।

पुटिनसँग कुरा गरेपछि ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरे । उनले पुटिनसँग दुई घण्टा कुरा गरेको, रुस र युक्रेनले युद्धविराम र अझ महत्त्वपूर्ण कुरा, युद्धको पूर्ण अन्त्यको लागि तुरुन्तै वार्ता सुरु गर्नुपर्नेमा जोड दिएक छन् । ट्रम्पले रुस र युक्रेनबीच तुरुन्तै वार्ता सुरु हुने बताउदै युक्रेनी राष्ट्रपति जेलेन्स्की र धेरै युरोपेली नेताहरूलाई फोन गरेर यसबारे जानकारी गराएको बताएका छन् ।

ट्रम्प र पुटिनबीचको कुराकानीको खबर यस्तो समयमा आएको हो जब युरोपेली संघले मंगलबार रुसमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्न लागेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मे १६ मा टर्कीको इस्तानबुलमा भएको युक्रेन शान्ति वार्तामा उपस्थित भएनन् । यसै कारणले गर्दा यी प्रतिबन्धहरू लगाइँदैछन् । रुस र युक्रेनबीच फेब्रुअरी २०२२ देखि युद्ध चलिरहेको छ । विगत ३ वर्षमा पहिलो पटक दुई देशबीच शान्तिको बारेमा प्रत्यक्ष वार्ता भएको थियो ।

लोकप्रिय