नेपाली कांग्रेसमा गलत नजिर स्थापित
काठमाडौ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामालाई नेपाली कांग्रेसले विना कारण संसदीय दलको नेताबाट हटाएर गलत नजिर स्थापित गरेको छ । लामाले बागमति प्रदेश सरकार र नेपाली कांग्रेस पार्टीको अहित हुने गरी कुनै काम नगर्दा पनि पार्टीले जबरजस्त उनलाई संसदीय दलको नेताबाट हटाएर मुख्यमन्त्री पदबाट समेत राजिनामा गराउने खेल खेलेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको मौन समर्थनमा प्रदेश सांसद इन्द्र बानियाँको सत्तामोहले प्रदेशमा गलत नजिर स्थापित भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वको सरकार भङ्ग गरेर आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने स्वार्थपूर्ण मनसायले बानियाँले बागमती सरकार र नेपाली कांग्रेसलाई अस्थिरताको मार्गतर्फ लगेका छन् ।
बागमती प्रदेशको कांग्रेस संसदीय दलका नेता लामालाई पदबाट हटाउन कांग्रेसका ३७ प्रदेश सांसदमध्ये २२ सांसदहरुको समर्थनमा संसदीय दलमा अविश्वास प्रस्ताव पेश गरी उनलाई दलको नेताबाट हटाइएको छ । जुन संविधानको मर्म र भावना विपरित रहेको राजनीतिक विश्लेषकहरुको भनाई छ । एक पटक संसदीय दलको नेतामा निर्वाचित भईसकेपछि उनी नै ५ वर्षसम्म संसदीय दलको नेता बन्ने परम्परा छ ।
बहुमत पुगेकै कारण कुनै पनि दलका नेतामा अर्का नेता ल्याउने परम्परा अहिलेसम्म थिएन । यो परम्परा संघीय संसदमा समेत रहेको छ ।
त्यसोत, नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा नै रहेका छन् । तर, पार्टी सभापति देउवाले आफ्ना मान्छेलाई मुख्यमन्त्री बनाउनकै लागि खराब नजिर स्थापित गरेका छन् । आगामी असारमा प्रधानमन्त्री बन्न तम्तयार भएर बसेका देउवा आफैँलाई यो नजिरले जोखिम निम्त्याएको छ । यही नजिरलाई टेकेर देउवालाई संसदीय दलको नेतामा अल्पमत पार्दै अर्का सांसद संसदीय दलको नेता बन्न सक्ने बाटो खुलेको छ ।


प्रतिकृया दिनुहोस्