अध्यागमनमा सेटिङ मिलाईदिन्छु भन्दै रकम असुल्ने गुरुङ पक्राउ
काठमाडौ । सिजनल भिसामा दक्षिण कोरिया पठाईदिन्छु भनी यात्रुहरुसँग जनही रु एक लाख दश हजार माग गर्ने एक व्यक्तिलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ।
के एण्ड सी इन्टरनेशनल प्रा.लि.मा कार्यरत ४७ वर्षीय जगत गुरुङ एक लाख रुपैयाँ लिँदै गर्दा लाजिम्पाटस्थित आफ्नै कार्यालयबाट पक्राउ परेका हुन्। उक्त कम्पनीका प्रबन्ध निर्देशक भने शान्ति घले हुन्। ‘त्रिविवि अध्यागमन कार्यालयको सेटिङ मिलाएर मात्र त्यस्तो श्रम भिसामा जान सकिन्छ नत्र अध्यागमनले फर्काइदिन्छ। तपाइँको टिकट पनि खेर जान्छ’ भनेर दुइ जना यात्रुहरुबाट रकम असुलेका थिए ।
उनले यसअघि पनि यसैगरी पठाएको भनेर ती यात्रुहरुलाई विश्वस्त पारेको पीडितको गुनासो छ। अध्यागमनको सेटिङमा मात्र यस्तो भिसामा जान मिल्छ भनेपछि यात्रुहरु सो सम्बन्धमा अध्यागमन विभागमा उजूरी गरेका थिए।
त्यति धेरै पैसा आफुसँग नभएको भनेपछि १० हजार कम भएपनि काम गरिदिने जानकारी गराएको पीडितले बताए। अध्यागमन विभागमा उजूरी परेपछि अध्यागमन विभागले गुरुङलाई नियन्त्रणमा लिन नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरोसँग सहयोग मागेको थियो।
छोटो समय (६ महिनादेखि ८ महिना) का लागि दक्षिण कोरियामा कामदार पठाउने गरी विभिन्न स्थानीय तहहरुले सम्झौता गरेका थिए। सामान्यतया एक वर्ष भन्दा कम अवधीको भिसामा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गर्दैन। अध्यागमनले यस्तो भिसामा सहज प्रस्थान अनुमति दिँदै आएको छ।
पैसा असूल गर्नका लागि सोलुखुम्बु घर भएका पीडितहरुलाई गुरुङले पटक पटक पछ्याएको पीडितले बताएका छन्। उनलाई थप अनुसन्धानको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंमा बुझाइएको विभागले जनाएको छ।
भिजिट भिसामा यस्तै विचौलिया मौलाएको र सर्वसाधारणको विदेश भ्रमण महँगो परेको गृह मन्त्रालयले भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड परिमार्जन गरी सम्बन्धित मुलुकको भिसा, ६ महिना वैध अवधी भएको राहदानी र गन्तव्य मुलुकसम्मको हवाई टिकट पेश गरेमा पर्यटक भिसामा प्रस्थान गर्न सकिने व्यवस्था गरेको छ।
यसका अतिरिक्त भिजिट भिसामा जाँदा स्वघोषणा भने गर्नुपर्छ। साविकमा भिजिट भिसामा अन्य मुलुक प्रस्थान गर्न यसका अतिरिक्त दुई तर्फी हवाई टिकट, होटल बुकिङ र ५०० अमेरिकी डलर बराबरको विदेशी परिवर्त्य मुद्रा आवश्यक पर्ने व्यवस्था थियो।


प्रतिकृया दिनुहोस्