जेन–जेड आन्दोलनपछि रौतहटमा तस्करी तीव्र: सीमा नाकामा ‘सेटिङ’ सक्रिय
जेन–जेड आन्दोलनपछि रौतहटमा तस्करी तीव्र: सीमा नाकामा ‘सेटिङ’ सक्रिय
रौतहट, मंसिर २।
देशभर जेन–जेड आन्दोलनले सुशासनको माग उठाइरहेका बेला रौतहट जिल्लामा भने अवैध कारोबार र तस्करी गतिविधि फेरि तीव्र बनेको छ। प्रहरी प्रमुख बदलिएको केही समयमै सीमा नाकाहरूबाट हुने सानादेखि ठूला पोका तस्करी खुलेआम बढेको स्थानीय स्रोतले बताएको छ।
रौतहट प्रहरी प्रमुख रविन कार्कीले नाकामा कडाइका निर्देश दिए पनि सीमा प्रहरी एकाइ, बीओपी र स्थानीय युनिटबीचको ‘सेटिङ’ का कारण तस्करी नियन्त्रणभन्दा उल्टो कारोबार बढेको आरोप स्थानीय र स्रोतहरूले लगाएका छन्।
घुमुवा तैनाथीपछि तस्करी झन् सक्रिय
जिल्ला प्रहरी कार्यालयले तस्करी नियन्त्रणका लागि सादा पोसाकमा घुमुवा परिचालन गरिरहेको छ। तर स्रोतका अनुसार ती घुमुवामार्फत तस्करी नियन्त्रणको सट्टा गतिविधि झन् सहज बनाइएको छ।
अहिले विवादमा परिरहने सहायक हवल्दार नविन पाल जिल्ला प्रहरी कार्यालयमै घुमुवा भूमिकामा रहेर काम गरिरहेका हुन्।
दर्जनौं नाकाबाट भन्सार छली
भारतीय बजारबाट खरिद गरिएका हार्डवेयर, लत्ताकपडा, किराना, मल–विउ लगायतका सामग्रीहरू गौर भन्सार, लक्ष्मीपुर–बेलबिक्षवा, महादेवपट्टी बंजरहा, मठिया, जयनगर, लतमडी, रामपुरखाप, बंकुललगायत दर्जनौं नाकाबाट शस्त्र प्रहरी र नेपाल प्रहरीको संरक्षणमा भन्सार छली नेपाल भित्र्याइने गरेको दाबी गरिएको छ।
यी सामानहरू गरुडा, चपुरलगायतका बजारसम्म साना तथा ठूला सवारीमा सहजै पुर्याइने गरेको स्रोतको भनाइ छ।
मद्य तस्करीमा पनि प्रहरी मौन
महादेवपट्टी, लक्ष्मीपुर बेलबिक्षवा, बंजरहा क्षेत्रका नाकाबाट बिहारमा प्रतिबन्धित मदिरा राति–राति तस्करी हुँदै आएको स्थानीयले बताएका छन्। “सर्बसाधारणले घरायसी सामान ल्याउँदा प्रहरी दुःख दिन्छ, तर सेटिङमा आउने तस्करलाई छाडिदिन्छ,” एक स्रोतले दाबी गर्यो।
बारम्बार प्रहरी प्रमुख सरुवा भए पनि समस्या उस्तै
अघिल्ला दुई प्रहरी प्रमुखसहित कयौंलाई तस्करी आरोपकै कारण हेडक्वार्टर तानिएको भए पनि तस्करी नियन्त्रणको अवस्थामात्र सुधार नभएको स्थानीयको गुनासो छ।
स्रोतका अनुसार घुमुवा–तस्कर ‘सेटिङ’ का कारण अहिले दर्जनौं नाका तस्करीका लागि ‘रजगज’ बनेका छन्।


लेखकको सम्वन्धमा