कलाकार निशा घिमिरे सदाका लागि अस्ताइन्
काठमाडौं भदाै १६। चर्चित मोडल तथा कलाकार निशा घिमिरेको नर्भिक हस्पिटल थापाथलीमा उपचारका क्रममा निधन भएको छ । मोडल घिमिरेको उपचारका क्रममा बुधवार साँझ मृत्यु भएको हो । घिमिरेको आज साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक हस्पिटलका कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिए
।
हस्पिटलमा लगातारको उपचारपछि पनि उहाँको अनुहार फेरिएकाे भनिएतापनि बास्तविक स्वास्थ्य अवस्थामा भने खासै सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयू कक्षमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा भएका घाउहरु समेत लामो समयसम्म निकाे हुन सकेका थिएनन् । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।
तीन वर्षअघि भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा गम्भीर घाइते भएपछि जिउँदो लाशजस्तो भएर खर्च अभावका कारण घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उनलाई उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । सो क्रममा उनको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि पनि उहाँको अवस्था स्थिर नै रहेको थियो ।
‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं ।’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भने, ‘हामी दिवंगत आत्माको चिरशान्तिको कामना गर्र्दछौं भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।’
प्रतिकृया दिनुहोस्