एउटै बोका ८ लाखमा बिक्री , खसी बेचेर करोडकाे आम्दानी

सुनसरी भदाै १८। सुनसरीका दुई परिवारले खसीबोका पालेरै वार्षिक १ करोड बढीको कारोबार गर्दै आएका छन्।
उत्पादनले सहजै बजार पाउने र माग समेत बढी आउने भएकाले खसीबाख्रा पालन उनीहरुको राम्रो आम्दानीको श्रोत बनेको हो।
सुनसरीको कोशी कटान क्षेत्रमा दुई वर्ष अघिबाट थालिएको बोयर गोट फार्ममा तीन महिनाको एउटै पाठी अढाई लाख मूल्यमा बिक्री हुने गरेको छ।
अस्ट्रेलियाबाट चिम्पाञ्जी जातको बोका र बाख्रा ल्याएर सुरु गरिएको सो फार्मले दुई लटका पाठापाठी बिक्री गरिसकेको छ।
फार्मका खसी बाख्रा मासुका लागि भन्दा पनि बीउ र उत्पादनको लागि किसानले प्रयोगमा ल्याउने गरेका छन्।
एउटा माउ बाख्राले एकै पटकमा तीन वटासम्म पाठापाठी पाउने भएकाले समेत पालनको लागि पाठीको माग अत्याधिक रहेको फार्म सञ्चालक बताउँछन्।
बोका समेत ६ देखि ८ लाखमा बिक्री हुने गरेको बताउने फार्म सञ्चालक माग धान्न नसकेकाले व्यवसाय बिस्तारमा जुटेको बताउँछन्।
कृषि पेशा अँगाल्दै आएकी सुनसरीको डुम्राहाकी कोपिला कार्कीको परिवारले समेत पाठापाठी बेचेरै मनग्यै आम्दानी गर्दै आएको छ।
आठ वर्ष यता निरन्तर सो पेशामा लागेको कार्की परिवारले खसीबाख्रा पालनका लागि घरमै ठूलेमोर कृषि फार्म संचालन गरेको छ। उक्त फार्ममा १ सय ५० बढी खसीबाख्रा पालिएका छन्।
लोकल तथा बोयर क्रस र जमुनापारी क्रस बाख्रा पालन गर्दै आएको सो परिवार बजारको कुनै समस्या नभएको बताउँछ।
मासुका लागि खसीको माग अत्याधिक रहेको बताउने फार्म सञ्चालिका कार्की स्थानीय बजारमै उत्पादन खपत हुने गरेको बताउँछिन।
व्यवसायिक रुपमा फार्म संचालन गर्दै आएकाको हकमा भेटेरीनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र इनरुवाले आवश्यक परामर्श र अनुदान दिने भएकाले समेत पछिल्लो समय व्यवसायिक पालनमा किसानको आकर्षण बढ्दै गएको छ। (समाचार देशसन्चारबाट साभार)
प्रतिकृया दिनुहोस्