वैदेशिक रोजगारीमा जानेहरुको प्रक्रियागत काम भैरहवा र पोखराबाट पनि गर्न निर्देशन
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानका लागि आवश्यक प्रक्रियागत काम भैरहवा र पोखराबाट पनि सञ्चालन गर्न निर्देशन दिएको छ । श्रममन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा सरोकारवाला संघसंस्था र कार्यालयहरूका प्रतिनिधिसहितको बैठकले गरेको निर्णय अनुसार मन्त्रालयले कार्यान्वयन प्रक्रिया अघि बढाउन थालेको हो ।
मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी कविराज उप्रेतीका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाटै उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।
वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बीमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौँ आउनुपर्ने अवस्था अन्त्य गर्न हाल प्रदान गरिरहेको सेवा र सम्पादन गरिरहेका काम भैरहवा र पोखराबाट गर्ने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित संघ–संस्थालाई निर्देशन दिइएको उनले बताए ।
प्रतिकृया दिनुहोस्