‘अध्यक्षज्यूको मुखराविन्दबाट दुर्वचन, अपशब्द र मिथ्या बाहेक अरु सुन्न पाइएन’: बामदेव गौतम
काठमाडौँ भदाै २१। प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष तथा प्रभावशाली नेता बामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको मुखराविन्दबाट दुर्वचन, अपशब्द र मिथ्या वाहेक केही सुन्न आफूले नपाएकाे आरोप लगाएका छन् ।
अध्यक्ष ओली सहित ओली निकटवर्ती केही नेताहरुलाई नेता गौतमले सामाजिक सन्जाल भाइबर मार्फत् यस्तो म्यासेज पठाएर गुनासाे ब्यक्त गरेका हुन् । आइतबार ओली लगायत एमालेका अधिकांश नेतालाई भाइबरमा उनले सन्देश पठाएका हुन् ।
उनले सबैभन्दा ठूलो पार्टीको अध्यक्ष जस्ताे जिम्मेवार नेताबाट आफूले दुर्वचन र मिथ्या वाहेक केही सुन्न नपाइएको गुनासो गरे । यद्यपि आफूले कम्युनिस्ट आन्दोलनकाे माेर्चा नछाडेकाले कतै भेट पनि हुनसक्ने बताएका छन् ।
नेता गौतमले यसअघि शुक्रबार नेकपा एमालेको कार्यालयमा पुगेर पार्टी परित्याग गरेको भन्दै राजीनामापत्र बुझाएका थिए । त्यसपछि उनले आफू कुनै पार्टीमा सामेल भएको घोषणा गरेका छैनन् । नेकपा एमाले विभाजनअघि भने उनले केपी ओलीको पक्षमा रहेको भन्दै सार्वजनिक रुपमा घोषणा गरेका थिए । एमाले विभाजनपछि नेता गौतम निकट अधिकांश कार्यकर्ताहरु भने माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ सामेल भएका छन् ।
नेता गौतमकाे गुनासाे सहितकाे सन्देश यस्ताे छ:
“नेपालको सबै भन्दा ठूलो पार्टीका अध्यक्ष कमरेड केपीको मुखराविन्दबाट दुर्वचन, अपशब्द र मिथ्या बाहेक अरु केही सुन्न नपाइने भयो। मैले एमाले पार्टी छोडे पनि कम्युनिस्ट आन्दोलन छोडेको छैन। ख़्याल रहोस् भविष्यमा कतिपय मोर्चाहरुमा सँगै काम गर्न पनि पर्नसक्ने हुन्छ ।”
प्रतिकृया दिनुहोस्