प्रज्ञा–प्रतिष्ठानलाई जनस्तरसम्म स्थापित गर्ने जमर्को गरेका छौं !

नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्न तथा मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्ने उदेश्य लिएर स्थापना भएको थलो हो । राष्ट्रका विद्वान एवं प्रतिभाहरुको सम्मान गर्न, सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सर्वाङ्गीण सहभागिता जुटाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्ने लगायतका कार्यहरु यसको कार्यक्षेत्र भित्र पर्दछन् । वि.सं. २०१४ मा गठित प्रतिष्ठान २०३१ मा प्रज्ञा–प्रतिष्ठानमा परिणत गरिएको थियो । प्रतिष्ठानको मुख्य कार्य क्षेत्र भनेको भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्र क्षेत्र रहेको छ । नेपालका सम्पूर्ण भाषाहरू, तिनमा लेखिएका साहित्य, संस्कृति, सामाजिक शास्त्र एवं दर्शन शास्त्र सम्बन्धी विभिन्न विषयको अध्ययन, अनुसन्धान र अन्वेषण गर्ने, गराउने लगायतका यसका मुख्य कार्य रहेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा पछिल्लो समय कुलपतिको रुपमा भूपाल राई रहेका छन् । करिव डेढ बर्ष अगाडीबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपतिको रुपमा काम गरीरहेका छन् । आफु नेतृत्वमा आएपछि मुख्यतत्र प्रज्ञा प्रतिष्ठानलाई जनस्तर सम्म स्थापित गर्नको लागि विभिन्न गतिविधिहरु अघि बढाएको साथै देशमा भएका सम्पूर्ण कला संस्कृति भाषा सभ्यताको संरक्षण गर्ने कुरामा अग्रसर भइरहेको उनले बताएका छन् । प्रज्ञा प्रतिष्ठानको नियमित कामहरु, नयाँ योजना, प्रभावकारीता लगायतका बिषयहरु समेटेर राईसंग गरिएको कुराकानी:
तपाई नेतृत्वमा आएपछि के कस्ता कामहरु गर्नुभयो ?
प्रज्ञा–प्रतिष्ठानमा सामान्यतया दुई तरिकाको कामहरु हुन्छन् । एउटा परम्परागत तथा नियमित रुपमा हुँदै आएका कामहरु भयो भने अर्को नयाँ अध्ययन, अनुसन्धान गर्नुपर्ने हुन्छ । यी दुई वटै कामहरु हामीले डेढ बर्षको अवधिमा तीव्र रुपमा गरीरहेका छौँ । नियमित कार्यक्रमहरु, विभिन्न गोष्ठी, संघ गोष्ठी, भाषा साहित्य, समाजशास्त्र, दर्शन शास्त्र, संस्कृति लगायतका क्षेत्रमा विभिन्न सिर्जनात्मक कामहरु भईरहेका छन् । यी प्रतिष्ठानका आन्तरिक कार्यक्रम अन्र्तगत पर्दछन् । त्यसैगरी प्रतिष्ठान विभिन्न अध्ययन अनुसन्धान गर्ने र प्रकाशनको थलो भएको हुनाले त्यो काम पनि डेढ बर्षदेखि निरन्तर रुपमा गरिरहेका छौं । केही अध्ययन, अनुसन्धानबाट आएका प्रतिवेदनहरु प्रकाशनको तयारीमा रहेका छन् ।
अर्को भनेको नेपाल प्रज्ञा प्रतिष्ठानलाई जनस्तरसम्म स्थापित गराउने हो । त्यसका लागि प्रतिष्ठानलाई जनतासम्म पु¥याउने गरी काम भइरहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान भनेको त सामान्यतया भाषा साहित्यसंग सम्बन्धित व्यक्तिलाई मात्र थाहा छ । जनतालाई थाहा छैन, जनस्तरसम्म पु¥याउनको लागि म आएर मुलतः दुई वटा काम गरेको छु । त्यसका लागि ‘विद्यालयमा कुलपति’ र ‘रैथाने ज्ञान उत्सव’ कार्यक्रम संचालनमा ल्याएका छौं । यसले जनतासंग सम्बन्ध स्थापित गर्न र नेपाल प्रज्ञा प्रतिष्ठान भन्ने संस्था छ भन्ने कुरा जनस्तरसम्म पुग्ने विश्वास छ ।
त्यसैगरी प्रज्ञा प्रतिष्ठानले जनताको रुचीको काम गर्ने गर्छ, आवश्यकताको काम सक्छ, भाषा साहित्य, सामाजिक शास्त्र, संस्कृति लगायतका क्षेत्रमा काम गर्छ भन्ने जनतामा बुझाउनु अहिलेको आवश्यकता पनि हो । यसका लागि ‘विद्यालयमा कुलपति’ कार्यक्रम प्रभावकारी बनिरहेको छ । अहिले यो रोकिएको छ तर, यसलाई पुनः निरन्तरता दिने कोशिषमा छु । अर्को रैथाने ज्ञान उत्सव कार्यक्रम संचालन गर्ने कार्यक्रम अन्र्तगत नेपालमा रहेका १ सय २४ भाषाभाषी, सयौँ जातजाति समुदाय भएको देश भएको र यी रैथाने ज्ञानसंग जोडिनको लागि जहाँ जहाँ जुन जुन जाति छन् त्यहाँ गएर बहस विमर्श गर्नको लागि ज्ञान परम्पराहरु, विश्वास पद्दतीहरु अध्ययन तथा उत्खनन् गर्ने काम भईरहेको छ ।
देशमा अहिले कला, साहित्यको अवस्था कस्तो छ र अब हामीले कसरी अघि बढ्नुपर्ला ?
संसारमा विरलै देश होलान् जहाँ नेपालको जस्तो विविधता होस् । हामी कला संस्कृति, भाषा, समुदायहरुको विविधताले भरिपूर्ण छौ । यसर्थ नेपालका विद्यमान भाषा संस्कृति के–के हुन् त्यसलाई अधिकतम रुपमा उत्खनन् गर्नुपर्छ । प्रतिष्ठानको प्रमुख कार्य पनि यही हो । विभिन्न कला संस्कृतिको अध्ययन, अनुसन्धान र बहस हुनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ । नेपालको कला, साहित्य र भाषाभाषी यस्ता छन् भनेर संसारलाई हामीले थाहा दिनुपर्ने र स्थापित हुनुपर्ने भएपनि त्यो हुन सकेको छैन । अब देशका सबै क्षेत्रले मुल मुद्वाको रुपमा कला, संस्कृतिलाई विश्वसामू स्थापित गर्नका लागि भूमिका खेल्नुपर्दछ ।
नेपालको परम्परा र संस्कृति माथि विदेशी प्रभाव परिरहेको छ भनिन्छ नि ?
अहिले सबैको हात हातमा मोबाइल फोन छ । इन्टरनेट सेवाका कारण संसारभर के कस्तो अवस्था छ, त्यो आम मानिसहरुले जानकारी पाएका छन् । हाम्रो साहित्य, भाषा, संस्कृतिमा बाह्य प्रभाव अवश्य पनि परेको छ । त्यो प्रभावलाई चिर्नुपर्दछ । त्यसका लागि हामी को हौँ भनेर पहिले नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्छ । संसारमा ७ हजार भन्दा बढि भाषा छन् । हामीले नयाँ पुस्तालाई हाम्रा भाषाहरुका बारेमा बुझाउनुपर्दछ । त्यसपछि उनीहरुले आफ्नो पहिचान थाहा पाउनेछन् । नयाँ पुस्तालाई संसारका मानिसहरु सांस्कृतिक रुपमा फरक छन् र आफ्नो संस्कृतिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो भन्ने कुराको समेत ज्ञान हुनु जरुरी छ ।
दोस्रो कुरा हाम्रा देश विविधता र बहुलताले बनेको देश हो । त्यसमा गर्व गर्ने खालको प्रशिक्षण दिनुपर्छ । इन्टरनेटलाई रोक्न सकिदैन् तर प्रत्येक मानिस आफूँ को हुँ भन्ने प्रशिक्षित भयो भने उनले अन्य कुराहरुलाई पनि मिलाएर राख्न सक्छ । नराम्रो कुरालाई अस्वीकार गरेर पनि बाँच्न सक्छ । त्यसको लागि म को हुँ भन्ने प्रशिक्षण एकदमै आवश्यक छ । आफ्नो पहिचान थाहा पाइसकेपछि नयाँ पुस्ताले विदेशी कल्चरको सिको गरेर आफ्नो संस्कार, संस्कृति, कला, भाषा, साहित्यलाई बिस्रनु हुँदैन ।
नयाँ पुस्ताहरु साहित्य क्षेत्रमा कसरी आउनुपर्छ ?
मानिसहरु कयौं दिन खाना बिना पनि बाँच्न सक्छ । केही बर्ष राजनीति बिना पनि बाँच्न सक्छ । तर भाषा बिना कोही पनि बाँच्न सक्दैन । एउटा परिवारमा रहेका सदस्यहरु नबोली बस्ने हो भने त्यहाँको अवस्था के होला ? यद्यपि साहित्य भनेको यही हो भनेर ठ्याक्कै जवाफ दिन गाह्रो छ । साहित्य भनेको मानव विचार र चेतनासंग जोडिएको कुरा हो । यसले मानिसलाई सही दिशातर्फ लैजाने र सुसूचित गर्ने काम गर्छ । यसको प्रभाव चेतना विचार र भावनासंग पर्छ । यसको प्रभाव दुरगामी हुन्छ । नयाँ पुस्तालाई संस्कृति संरक्षण र साहित्य सिर्जनामा प्रोत्सहन गर्नुपर्दछ । साहित्य हामी सबैको प्राथामिकता पर्नुपर्दछ । मान्छे भित्र जुन विचार हुर्किराखेको हुन्छ त्यसलाई सही दिशामा लैजान र निर्देशित गर्नको लागि साहित्य आवश्यक पर्दछ । साहित्यले मानिसलाई सिर्जनशिल, भावनात्मक, असल र अनुशासित बनाउँछ । साहित्यमा युवा पुस्ता जोडिनुपर्दछ ।
प्रतिष्ठानले अनावश्यक आर्थिक बोझ बोकिरहेको छ भन्ने बाहिर हल्ला चल्ने गर्दछ । खास कुरा के हो ?
कुनै चिज छ, अस्तित्व छ भने त्यसको विषयमा हल्ला चल्नु स्वाभाविक हो । बाहिर मानिसहरुले एक खालको धारणा निर्माण गरेका हुन्छन् त्यही धारणा हल्लाका रुपमा फैलिएको हो । फजुल खर्च गर्ने खालको बजेट हामीसँग छैन । यहाँका कर्मचारी, प्राज्ञ परिषद्का सदस्यहरुको तलबभत्ता पुग्नेगरी मात्र सरकारले बजेट पठाउँछ । अतिरिक्त खर्चको लागि यहाँ बजेट नै पुग्दैन । बाह्य हल्ला जो छ, त्यो निराधार हो । यहाँ हाम्रो ११ वटा विभाग छन् । ती विभागहरु संचालन गर्नका लागि नै हाम्रो आन्तरिक श्रोतबाट धेरथोर पैसा जुटाएर सञ्चालन गर्नुपर्छ । बजेटकै कारण प्रतिष्ठानका कतिपय उदेश्य थाती रहेका छन् ।
तपाईको आगामि योजनाहरु के के छन् ?
नेपाल कला, संस्कृति र भाषा साहित्यले भरिपूर्ण देश हो । यसको उचित संरक्षण र सम्वद्र्धन हुन नसक्दा विविध संस्कृति र भाषा संरक्षण चुनौतीको विषय बनेको छ । विभिन्न जातजातिका परम्परागत कला संस्कृति नाश हुँदै गइरहेका छन् । कयौं जनता कला–साहित्यसँग जोडिन सकेको छैन । यस्तो अवस्थामा प्रष्ठिानले नेपालका सबै भाषाभाषी, कला, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दछ भन्ने कुरालाई स्थापित गराउन लागि परेको छु ।
काठमाडौं भन्दा बाहिरका जनतालाई पनि प्रज्ञा प्रतिष्ठान छ है भनेर जानकारी दिने गरी केही ड्रिम प्रोजेक्ट अघि सारेका छौं । वि.स. २०१४ सालमा स्थापित भएको भएपनि आम नेपाली जनतालाई यसको बारेमा थाहा छैन । नेपाल प्रज्ञा प्रतिष्ठान पनि छ र भन्न्ने जस्ता प्रश्नहरु पनि आउने गर्दछन् । यो अवस्थालाई चिर्ने कोसिस गरेको छु । अब साढे दुई बर्षको समय छ । यसमा मेरो ध्यान केन्द्रीत हुनेछ । दोस्रो काम भनेको हामी आउने वित्तिकै एउटा मुलमन्त्र बनाएका छौँ ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने । कुलपति भनेको के हो, प्रज्ञा सदस्य भनेको के हो सबैलाई थाहा छैन । त्यसैले यसको महत्व दर्शाउनको लागि हामीले यो नारा तय गरेका छौँ ।
त्यस अन्तर्गत सकेसम्म प्रज्ञा प्रतिष्ठानलाई साझा बनाउने देशमा रहेका १ सय २४ वटै भाषाको संरक्षण र सम्बद्र्वन गर्ने हाम्रो योजना रहेको छ । देशमा सबै जनताले तिरेको करले स्थापित भएको संस्था भएकाले गर्दा यो सबैको साझा संस्था हुनुपर्छ । सबै जातजाति, धर्म, संस्कृतिको संरक्षण र सम्वद्र्धन हुनुपर्छ । भाषा संरक्षणमा हामी गम्भीर बनेका छौँ । देशभर रहेका सबै जातजातिका भाषा परियोजनामा मुख्य रुपमा काम गर्ने मेरो आगामी कार्ययोजना रहेको छ ।
भूपाल राई, कुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान ।
प्रतिकृया दिनुहोस्