अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
काठमाडौं, साउन १३, नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ७ बजेसम्म ५ वटा मुख्य राजमार्ग ७ ठाउँमा अवरूद्ध छ ।
ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरमा पहिरोका कारण कान्ति लोकपथ पूर्ण अवरूद्ध छ ।
यही लोकपथको हेटौंडा–ठिंगन–बागमती–ललितपुर खण्ड असार २९ गतेदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द रहँदै आएको छ ।
सम्भावित पहिरोका कारण उक्त खण्डमा रातको समयमा गाडी चलाउन रोक लगाइएको हो ।
भोजपुर नगरपालिका–१ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग अवरूद्ध छ । यो सडक अहिले एकतर्फी सञ्चालनमा रहेको र वैकल्पिक बाटो समेत सञ्चालनमा छ ।
मेची राजमार्ग इलाममा पूर्ण अवरूद्ध छ। अविरल वर्षाका कारण इलाम नगरपालिका–९ राजदुवालीमा झापा–ताप्लेजुङ सडक वैशाख २३ गतेदेखि पूर्ण अवरूद्ध छ । त्यहाँ वैकल्पिक बाटो सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
काभ्रेमा विपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेसी चल्ने सम्पूर्ण सवारी साधनहरू जेठ २२ गतेदेखि रातिको समयमा बन्द रहँदै आएको छ ।
उक्त खण्डमा सम्भावित बाढीका कारण बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
अरनिको राजमार्ग दुई ठाउँमा पूर्ण रूपमा अवरूद्ध छ ।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोस्थित तातोपानी जाने बाटो असार ३१ गतेदेखि अवरूद्ध छ ।
भोटेकोशी–२ कोदारीमा पहिरोका कारण साउन १ गतेदेखि उक्त खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ।


प्रतिकृया दिनुहोस्